पे्रस चौतारीको गण्डकी अञ्चल भेला, सात बुदे प्रस्ताव पारित

पोखरा, २० माघ/प्रेस चौतारी नेपाल गण्डकीको अञ्चल भेला सोमबार पोखरमा सात बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । भेलाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ र पत्रकारीता क्षेत्रका संघ संस्था एकजुट भएर पहल गर्न आग्रह गर्दै ऐन कार्यान्वयनमा उदासिन देखिएको सरकारलाई सचेत गराउने प्रस्ताव पारित गरेको गण्डकी अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

नेपाल पत्रकार महाहसंघलाई व्यावसायिक र श्रमजिवी पत्रकारको संस्थाको रुपमा विकास गर्न प्रेस चौतारीको तर्फबाट पहल र प्रयत्नशिल रहने अठोट भेलाले लिएको बताए । पत्रकारको क्षमता अभिबृद्धिमा निरन्तर जुट्ने प्रतिवद्धता भेलाले व्यक्त गरेको छ । प्रेस चौतारीको तल्लो तहदेखि केन्द्रतहको नेतृत्वमा समावेशीको सिद्धान्तालाई अवलम्बन गर्न प्रयास गर्ने निर्णय पनि भेलाले गरेको गण्डकी ईन्चार्ज हरि बास्तोलाले जानकारी दिए ।

पे्रस चौतारीको गण्डकी अञ्चल भेला
पे्रस चौतारीको गण्डकी अञ्चल भेला

प्रेस स्वतन्त्रता सहितको लोकतान्त्रिक संविधान एक वर्ष भित्र जारी गर्न भेलाले जोडदार माग गरेको छ । पोखरा पर्यटकीय गन्तव्य भएको र यस क्षेत्रको समग्र पर्यटनको विकासको लागि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै भेलाले विमानस्थल निर्माणको काम तत्काल थाल्न पनि सरकारसँग माग गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा गण्डकी अञ्चलका पाँच जिल्लाका गरी करिव ७० जनाको सहभागिता रहेका थिए ।

प्रेस चौतारी गण्डकीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको भेलाले संगठन सुदृढकरणको साथै फागुन १७ गते गण्डकी अञ्चलका जिल्लामा हुने पत्रकार महासंघको निर्वाचनलाई मध्य नजर गरेर रणनीति समेत बनाएको छ । भेलामा जिल्ला अध्यक्षहरुले संगठनको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...