पश्चिमाञ्चल स्तरिय ४ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

पोखरा, १९ माघ /सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा पश्चिमाञ्चल स्तरिय ४ दिने आधारभुत पत्रकारिता तालिम आईतबार सकिएको छ । कार्यक्रमका बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पत्रकारितामा निरन्तर अभ्यासको जरुर रहेको औल्याउनुभयो । उहाँले मानिसलाई तालिम मात्र नभएर प्रोत्साहन र कार्य क्षेत्रमा लाग्न आत्मविश्वासको खाँचो पर्ने बताउनुभयो । अधिकारीले भन्नुभयो— ‘ पत्रकारिताभित्र धर्म, मर्म, मुल्य र नैतिकता जस्ता कुराहरु समावेश हुन्छन् । यी कुराहरुलाई नै आत्मसात गर्दै पत्रकारिता गर्नुपर्दछ , जसले समाजमा सकरात्मक प्रभाव पार्न सकोस ।

सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा भएको पत्रकारीता तालीम समापन
सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा भएको पत्रकारीता तालीम समापन

‘ पत्रकारिताको माध्यमबाट सम्पे्रषण गरिएका समाचारले समाजलाई सहि माग निर्देश गर्न सक्नुपर्ने अधिकारीको धारणा थियो । समाजले जहिले पनि सहि सुचनाको अपेक्षा गरेको हुन्छ , त्यो अपेक्षा पुरा गर्ने गहन र महत्वपुर्ण जिम्मेवारी पत्रकारको भएकाले यो जिम्मेवारी पुरा गर्नका लागि आम पत्रकारितामा संलग्न सम्पुर्ण व्यक्तिहरुले पत्रकारिताको मर्मलाई आत्मसात गर्नुपर्ने अधिकारीले बताउनुभयो । साथै उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नका लागि तालिमका सहभागिहरुलाई आग्रह समेत गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रेश चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरले अझै पनि आधारभुत पत्रकारिता आवश्यक रहेको बताउदै महिला पत्रकारहरुमा संख्यात्मक भन्दा पनि गुणत्मक रुपले विकास गर्न जरुरी रहेको औल्याउनुभयो । यस्तै गरी प्रेश युनियनका पुर्व संयोजक हेमराज बरालले सिकिएका कुराहरु व्यवहारमा उतार्नु नै तालिमको वास्तविक औचित्य रहेको बताउनुभयो । कार्यक्रमका बोल्दै इन्सेक पश्चिमाञ्चलका कार्यक्रम संयोजक सवनव शर्माले अवसरसँगै चुनौती पनि आउदै जाने भएकाले चुनौतीको सामना गर्ने अठोटका साथ लागि परेका तालिमका सहभागिहरुलाई सफलताका कामना गर्नुभयो । उहाँले सल्लाह सबैको लिने तर सहि निर्णय आफुले लिनुपर्ने बताउदै सर्वप्रथम कार्यक्षेत्रमा आफै प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै गरी प्रशिक्षकको तर्फबाट बोल्दै पत्रकार ईश्वरी न्यौपानेले महिला समुहमा पलायनको प्रवृृत्ति नबढोस भन्ने धारणा राख्नुभयो । साथै उहाँले तालिमका सहभागिहरुमा उत्साह र जाँगर रहेकोले त्यसलार्ई जिवन्त राख्न आग्रह गर्नुभयो । तालिमपुर्व र तालिममा सहभागि भएको बेलामा तालिममा सिकिएका कुराहरु व्यवहारमा लागु गर्छु भन्ने सहभागिहरुमा जुन योजना थियो त्यो योजना योजनामै सिमित नरही व्यवहारमा लागु गर्नुपर्ने न्यौपानेको भनाई छ । यस्तै गरी सहभागिको तर्फबाट बोल्दै विनु सुवेदी र इन्दिरा बराल सापकोटाले ४ दिनको तालिमले आफुहरुमा आत्मबल बढ्नुका साथै क्षमता अभिवृद्धि भएको उल्लेख गर्नुभयो ।

समग्रमा तालिम सोचेभन्दा पनि फलदायी भएको उनीहरुले बताएका थिए । माघ १६ गतेदेखि सञ्चालन भएको तालिममा प्रशिक्षकहरु दिपेन्द्र श्रेष्ठ, ईश्वरी न्यौपाने, भरत कोईराला, गंगाधर पराजुली केशव लामिछाने, रामकृष्ण ज्ञवाली , बद्रीविनोद प्रतिक, विनोद धौलागिरी, दुर्गा भण्डारी लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिमका विषयहरुमा आम सञ्चार र सञ्चार पत्रकारिताको अवधारणा सुचनाको हक र आचारसंहिता, पत्रकारिता अनुभव, समाचार र समाचार लेखन, समाचार सम्पादन, रेडियो पत्रकारिता, अन्र्तवार्ता, अनुभव आदान प्रदान लगायतका रहेका थिए । कार्यक्रमको समापन हुनुपुर्व सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै तालिमका संयोजक तथा रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले आर्थिक अभावका कारण सबै जनालाई तालिममा समेटन नसकेको बताउनुभयो ।

उहाँले तालिममा सहभागिहरुलाई प्राप्त ज्ञान , सिप र दक्षतालाई व्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो । कार्यक्रमबाटै गुरुङ व्युटिपार्लरकी अध्यक्ष चिनु गुरुङद्धारा स्थापित महिला पत्रकारका लागि रु. एक लाखको अक्षयकोष खडा गरेको घोषणा समेत गरिएको थियो । तालिममा पश्चिमाञ्चल क्षेत्रका २६ जना महिला पत्रकारको सहभागिता रहेको थियो । तालिममा सहभागि सम्पुर्णलाई प्रमुख अतिथी अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । सञ्चारिका समुह पश्चिामाञ्चलकी उपाध्यक्ष जमुना शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव कृपा भण्डारीले गर्नुभएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष वसन्ती बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमको विशेष सहयोगी पोखरा उपमहानगरपालिका र सहयोगी संस्था जिल्ला विकास समिति कास्की रहेको थियो ।

कमेन्टहरु
Loading...