पोखरा । लामो कसरत हुँदा समेत मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौं हिँडेका छन् ।
सत्ताका लागी गठबन्धनमा जोडिएका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पूर्वःवत सहमतिका आधारमा मन्त्रालय दिनुपर्ने अडान राखेपछि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् बिस्तार गर्न सकेका छैनन् ।
विश्वासको मत लिनु अगाडी जसपासंग आर्थिक मामिला सहित दुई मन्त्रालय दिने लिखित सहमति भएको थियो भने माओवादीदाई भौतिक पूर्वाधारसहित चार मन्त्रालय दिने मौखिक सहमति भएको थियो ।
तर पूर्ववतः सहमति कुल्चिएर नेपाली काँग्रेसले माओवादीलाई आर्थिक मामिला र जसपालाई उर्जा सिँचाई र कृषी दिने तयारी गरेपछि सहमति जुट्न सकेन ।
प्रदेश स्तरमा सत्ता बाँडफाँडका लागि सहमति जुट्न नसकेपछि मुख्यमन्त्री पोखरेल सबै पार्टीका केन्द्रीय अध्यक्षहरुसँग भेटेर सहमति बनाउनका लािग काठमाडौँ हानिएका हुन् । उनीसँगै मन्त्री कुमार खड्का पनि काठमाडौँ लागेका छन भने काँग्रेसका धेरै सांसदहरु पनि काठमाडौँ पुगिसकेका छन् ।
सरकारले बिश्वास मत लिएको यतिका समयसम्म मन्त्रालय बाँडफाँड नभएको भन्दै पोखरेल सरकारको चर्को आलोचना भएको छ ।