धादिङ–पोखरा सम्पर्क समितिको नयाँ नेतृत्व पछि चुनिने

पोखरा, पौष २१/ धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेकाहरुको संस्था धादिङ्ग–पोखरा सम्पर्क समितिको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शनिबार पोखरामा सम्पन्न भयो । नयाँ नेतृत्व भने पछि चुनिने भएको छ । अधिवेशनले कार्यसमिति चयन गर्न असफल भएपछि नेतृत्वको विषयमा पछि टुंगो लगाईने भएको हो ।

आवश्यक भन्दा बढी उम्मेदवारी परेकाले सर्वसम्मतको प्रयास असफल भएको र समय अभावका कारण निर्वाचन गर्न नसकिएको निर्वाचन समिति संयोजक रुद्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार छिट्टै चुनावको मिति तय गरी नयाँ नेतृत्व चयन गरिनेछ । संस्थाको विधान संशोधनका लागि गरेको प्रस्तावमा व्यापक विरोध आउँदासमेत पदाधिकारीले जबर्जस्ती पारित भएको घोषणा गरेकोमा सदस्यहरुको व्यापक असन्तुष्टि रहेको आजीवन सदस्य वीर बहादुर थापाले जानकारी दिनुभयो ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालका अध्यक्ष निलकण्ठ शर्माले जन्मथलो छाडेर मुलुकका विभिन्न ठाउँमा बसेकाहरु एकीकृत हुँदै संगठित भएमा सहज जीवनयापनका साथै भाइचाराको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कर्मथलो पोखरा भएपनि आफ्नो जन्मभूमिलाई विर्सन नहुनेमा जोड दिनुभयो ।

अन्तर समाज महासंघका निवर्तमान अध्यक्ष एवं समितिका वरिष्ठ सल्लाहार रुद्र प्रसाद खनालले पोखरामा रहेका करिब ४० हजार धादिङ्गवासी एकजुट हुनुपर्ने बताउँदै सम्पूर्ण धादिङ्गवासीलाई समितिमा आबद्ध हुन आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका समितिका अध्यक्ष हरि अर्यालले समितिले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर, विभिन्न दुर्घटनामा परी घाईते तथा मृत्यु भएका धादिङ्गवासीलाई आर्थिक सहयोग प्रदान गरिँदै आएको बताउनुभयो । अध्यक्ष अर्यालले आफ्नो २ वर्षे कार्यकालको समीक्षा गर्दै अबको कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष केदार धमला, पूर्व सचिव एवं धादिङ पोखरा सहयोगी संस्थाका अध्यक्ष बेनी पाठक, सचिव छन्द धरेल, अन्तर समाज महासंघका महासचिव शिवलाल उपाध्याय, सचिव टेक नारायण पौडेल, आजीवन सदस्य भिम प्रसाद ढुंगाना, मिठु रेग्मी, रिम बस्याल, रामप्रसाद अधिकारी लगायतले समाजिक भावनाबाट प्रेरित संस्थामा राजनीनिक विचार आउन नहुनेमा जोड दिएका थिए ।

साधारणसभामा कार्यवाहक सचिव डिल बहादुर ढकालले प्रस्तुत गर्नुभएकोे वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम थापा मगरको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा संस्थाको विविध गतिविधिमा संयोजकको भूमिका निर्वाह गर्दै कार्यक्रम सफल पारेकाहरुलाई सम्मान समेत गरिएको थियो ।

पोखरामा रहेका १ हजार बढि धादिङ्गवासी आबद्ध समितिले प्रत्येक वर्ष पोखरामा रक्तदान, धादिङ्गमा स्वास्थ्य शिविर, आँखा शिविर, सामुदायिक माविबाट एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र तथा छात्रालाई सम्मान, विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरणका साथै विभिन्न दुर्घटनामा मृत्यु भएका परिवार तथा घाईते भएकालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

कमेन्टहरु
Loading...