राजु गिरी, पोखरा ।
अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राख्दै अविलम्ब कोरोना संक्रमण विरुद्धको भ्याक्सिन उपलब्ध गराउन स्थानीय, प्रदेश तथा संघिय सरकारसँग माग गर्दै स्वाबलम्वन जीवन पद्धती केन्द्र पोखराले धयानाकर्षण गरेको छ । संस्थाले एक भर्जुवल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो ।
संस्थाका अध्यक्ष हेमबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरु कोरोनाको उच्च जोखिममा रहेको हुँदा छिटो भन्दा छिटो खोप उपलब्ध गराइदिन माग गरेका छन् । साथै अपाङ्गता भएका व्यक्तिहरुलाई पिसिआर परिक्षणमा पनि विशेष प्राथमिकतामा राखिने पर्ने उनको भनाई छ ।
संस्थाकी महासचिव तथा राष्ट्रिय अपाङ्ग महासंघकी संघीय सदस्य अन्जना केसीले अपाङ्गता भएका व्यक्तिहरुको पिसिआर परीक्षण, संक्रमितको संख्या लगायतका सूचनाहरुको व्यवस्थित तथ्यांक राख्न छुट्टै अभिलेखिकरण गर्न आवश्यक रहेको बताइन् ।
महामारीको यस समयमा अपाङ्गता भएका व्यक्तिहरु उच्च जोखिममा रहेको संस्थाले विज्ञप्ती जारी गर्दै बताएको छ ।
‘अपाङ्गता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु भन्दा बढि जोखिममा छन् । उनीहरुका लागि पहुँचयुक्त भौतिक पूर्वाधार, सञ्चार सेवा, पिसीआर परीक्षण स्थल, आइसोलेसन सेन्टर, उपचार गर्ने अस्पतालहरु समेत कमै मात्रामा छन् । व्यक्तिगत सहयोगी, परिवारका सदस्यहरु, सहकर्मी तथा सहयोगीहरुको सहयोगबाट जिविकोपार्जन गर्नुपर्ने यो वर्ग कतै महत्वपूर्ण अधिकारको रुपमा रहेको स्वास्थ्य अधिकारबाट वञ्चित भएका त छैनन् ? भन्ने प्रश्न खडा भएको छ । यसै सन्दर्भमा कोरोना विरुद्ध दिईने खोप अभियानमा अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकता दिई अविलम्ब खोप उपलब्ध गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछौं ।’ –विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पिसिआर परिक्षणलाई विशेष प्राथमिकतामा राखिनुपर्ने जोड दिँदै उनीहरुको छुट्टै तथ्यांक राख्न आग्रह गरिएको छ ।
‘अपाङ्गता भएका व्यक्तिहरुलाई पीसीआर परिक्षणमा विशेष प्राथमिकता दिनु जरुरी देखिन्छ । यसै गरी अपांगता भएका व्यक्तिहरुको पिसिआर परीक्षण, संक्रमितको संख्या लगायतका सूचनाहरुको व्यवस्थित तथ्यांक राख्न छुट्टै अभिलेखिकरण गर्न आवश्यक रहेको स्मरण गराउँदछौं । सरकारले जोखिमको क्षेत्रको पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सकेमा अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुको परिवार, सहयोगी तथा समुदाय समेत सुरक्षित रहन्छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अधिकार प्रत्याभूत हुने समेत भएकाले यस वर्गलाई खोपमा उच्च प्राथमिकता दिनु अत्यावश्यक रहेको कुरा स्पष्ट पार्दै सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदछौं ।’ –विज्ञप्ती मार्फत भनिएको छ ।