पोखरा, १६ माघ/परम्परागत रुपमा मन्दिर धाएर र पुजाआजा गरेर धर्म कमाउने प्रचलनलाई रुपान्तण गर्दै वात्सायन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई बिहिबार भोजन गराउने तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरावाट प्रकाशित हुने परिज्ञान राष्ट्रिय साप्ताहिकले आयोजना गरेको वृद्धवृद्धाहरुलाई भोजन गराउने कार्यक्रम पर्वत जिल्ला दुलुङ गा.वि.स. वडा नं. ४ निवासी स्व लेखनाथ सुवेदीको तेश्रो पुण्य स्मृतिको अवसरमा आयोजना गरिएको हो ।

वृद्धवृद्धाहरुको आत्मा खुशी बनाउन सकेमा स्वत आफ्ना पिताको आत्माले शान्ति पाउने विश्वासले नै यस्तो खाना खुवाउने कार्यक्रम अघिल्लो वर्षदेखि आयोजना गर्दै आएको परिज्ञान राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा स्व. सुवेदीका छोरा लक्ष्मण शर्माले जानकारी गराए । शर्माले अघिल्लो वर्ष पोखरा १७ मा रहेको पोखरा वृद्धाश्रममा आयोजना गरिएको स्मरण गर्दै भविष्यमा थप सृजनात्मक कार्यक्रमहरु गर्ने लक्ष्य रहेको समेत वताए । मन्दिरमा गएर पुजाआजा गरेर भन्दापनि वृद्धवृद्धाहरुको सम्मान तथा खुशिमा वास्तवमै भगवान खुशि हुने भएकोले वृद्धवृद्धाहरुको सेवा गर्न वृद्धाश्रम आएको कुरा परिज्ञान राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक ईश्वरी पौड्यालले वतााईन ।
सोहि कार्यक्रममा नै पोखरा १२ अमरसिंह चोक निवासी वोद्यराज घिमिरे र लक्ष्मी घिमिरेको विवाह भएको ४५ औ वर्ष र सोहि दम्पतीका कान्छा छोरा मनोज घिमिरेको ४१ औ जन्मदिनको अवसरमा घिमिरे परिवारले वृद्धवृद्धाहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । समाजमा वृद्धवृद्धाहरुप्रति सम्मान र माया गर्ने संस्कार कमजोर वन्दै गएको परिस्थितिमा यस्ता सम्मानले समाजमा सकरात्मक सन्देश जाने र वृद्धवृद्धाहरुप्रति गरिने विश्वासमा परिवर्तन आउने विश्वासका साथ यो सम्मान गरिएको घिमिरे दम्पतिका जेठा छोरा कृष्णराज घिमिरेले वताए ।