पोखरा, १६ माघ/पोखरामा बिहीबार एकै थलोमा बेग्लाबेग्लै तीन साहित्यिक कार्यक्रमहरु सम्पन्न भएका छन । ०६९, असोज÷ कात्तिकदेखि नियमित रुपमा प्रकाशित हुदै आएको सुनाखरी सन्देश साहित्यिक द्वैमासिक पत्रिका प्रकाशन भएको बर्षगाँठको अबसरमा पत्रिकाले कार्यक्रमको आयोजना गरेको थियो । साहित्यिक कार्यक्रमको पहिलो सेसनमा सुनाखरी सन्देश पत्रिकाको बर्षभरिका प्रकाशनका बिषयमा चर्चा परिचर्चा भयो ।
समीक्षक राजेन्द्र पौडेलले सुनाखरी सन्देश साहित्यिक द्वैमासिकको बर्षभरिको प्रकाशनका समीक्षा गर्दै पत्रिकाले पोखरामा क्रियाशिल साहित्यकारहरुका लेख रचनाहरुका लागि प्लेटफर्म रहेको औंल्याए । हालसम्म पाँचौ अंकसम्म प्रकाशित भइसकेको पत्रिकाको नियमित स्तम्भका रुपमा कुइनेटा, आलेख, सम्बाद, समीक्षा÷समालोचना, कथा, कविता, गजल र मुक्तकहरु रहेको पौडेलले उल्लेख गरे ।

त्यस्तै दोश्रो चरणमा असफल गौतमद्वारा लिखित ‘हाइकु ः आलेख र अभिलेख’ नामक पुस्तकको लोकार्पण कार्यक्रम भयो । साहित्यकार तथा प्राज्ञ सरुभक्त, कवि तथा प्राज्ञ रमेश श्रेष्ठ र बरिष्ठ मानव अधिकारवादी नेता टेकनाथ बराल लगायतले पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकको बिषयमा समीक्षा समीक्षक कृष्ण उदासीले गरेका थिए । पुस्तकमाथि समीक्षा गर्दै उदासीले भने ‘हाइकु ः आलेख र अभिलेख’ गरी पुस्तकभित्र तीन पक्ष रहेको बताए । उदासीले पुस्तक खोजपूर्ण र अनुसन्धानमूलक रहेको चर्चा गरे । कृतिकार असफल गौतमले समेत पुस्तकका बिषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा तेश्रो चरणमा सुनाखरी सन्देशका प्रकाशक एबं कार्यकारी सम्पादक तथा पत्रकार फडिन्द्र ‘अकिञ्चन’ र साहित्यप्रेमी अनिसा बरालको साहित्यिक विवाह कार्यक्रम अर्को पक्ष थियो । जतिखेर बरबधुलाई आसन ग्रहणका लागि मञ्चमा बोलाइए, साहित्यिक कार्यक्रम भनेर त्यहाँ पुगेका आमन्त्रित साहित्यकार, पत्रकार, बुद्विजीवी र बिभिन्न पेशामा आबद्व पेशाकर्मीहरु आश्चर्यमा परे । उनीहरु भन्दै थिए–‘हामीलाई त साहित्कि कार्यक्रम मात्र भनेर बोलाइएको थियो, यहाँ त अनौठो सहित्यिक बिवाहको पनि कार्यक्रमको आयोजना गरिएको रहेछ ।
नयाँ बरबधुलाई सफल दाम्पत्य जीवनका लागि साहित्यकार तथा प्राज्ञ सरुभक्त, विम्वकवि तथा प्राज्ञ रमेश श्रेष्ठ, बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल र अलिमिया लोकबाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मिया लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बैबाहिक जीवनमा बाँधिएका बर एबं पत्रकार फडिन्द्र ‘अकिञ्चन’ले आगामी दिनमा आफूहरुको बैबाहिक जीवनसंगै साहित्य र पत्रकारितालाई पनि संगसंगै हिंडाउने प्रतिबद्वता जनाए ।
सुनाखरी सन्देश साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक शिब ‘पलाँस’ को अध्यक्षतामा सम्पन्न सो साहित्यिक कार्यक्रम सञ्चारकर्मी मन क्षेत्रीले सञ्चालन गरेका थिए ।