बुढीबजारमा तक्मेबुढाको जन्मदिन

पोखरा, १६ माघ/कलाकार विल्शनविक्रम राईले माघ १५ गतेदेखि २६ वर्ष पुरा गरे । हाल फिल्म ‘हम जायेगा’को सुटिङमा रहेका यी तक्मे बुढाले फिल्म युनिट र संचारकर्मीहरुमाझ केक काटेर आफ्नो जन्मदिन मनाए । लेखनाथ बुढीबजारस्थित वाराहि स्टुडियोमा तक्मे बुढाले जन्मदिन मनाएका हुन् । जन्मदिनमा अरुको गिफ्ट लिने चलन हुन्छ तर उनले केहि उपहार बाँडे । उनले नेपथ्यमा रहेर फिल्म बनाउन महत्वपुर्ण भुमिका खेल्ने टेक्निशियनहरुलाई जुत्ता उपहार पनि बाँडे ।

विल्शनविक्रम राई
विल्शनविक्रम राई

उपहार बाँड्दै गर्दा उनी केहि नोस्टाल्जिक समेत भए । ‘कुनैबेला म पनि नेपथ्यमा रहेर जुत्ता खियाएको सम्झन्छु, वास्तवमै फिल्ममा प्राविधिकहरुलाई जस्तो दुख अरुलाई हुँदैन ।’ आफ्ना पुराना दिनहरु सम्झँदै उनले प्राविधिकहरुप्रति आदर भाव देखाए ।‘अहिले त म कलाकार छु, सबैले चिन्छन्, प्राविधिकको भन्दा पारिश्रमिक पनि धेरै नै छ ।’ उनले अगाडि थपे–‘तर प्राविधिकहरु दुख धेरै गर्छन् र उनीहरुलाई कसैले चिन्दैनन् पनि ।’ वास्तवमा एउटा फिल्मलाई राम्रो बनाउनमा प्राविधिकहरुको ठुलो हात हुने उनले बताए । ‘फिल्मका वास्तविक हिरोहरु भनेको प्राविधिकहरु नै हुन्, यी हिरोहरुलाई जुत्ता बाँड्न पाउँदा आज मलाई निकै खुशि लागेको छ ।’

साँझपख वाराहि स्टुडियोमा आयोजित वर्थ डे प्रोग्राममा विल्शन प्रति प्राविधिकहरु पनि निकै नतमस्तक देखिए । उनीहरु निकै हर्षित थिए । भन्दै थिए–‘कलाकार होस् त यस्तो पो, जसले प्राविधिकको दुख पनि बुझ्छ ।’ बिच बिचमा हँसाउन पनि नछोडेका विल्शनले आफै ब्राण्ड एम्बेसडर भएको ‘ब्ल्याक हर्स’ ब्राण्डको जुत्ता प्राविधिकहरुलाई बाँडेका थिए । ४० जोर जुत्ता उनलाई कम्पनीले नै उपलब्ध गराएको थियो । जन्मदिनको कार्यक्रममा काठमाण्डौबाट निर्देशक सुवास कोईराला र संयम पुरी पनि बुढीबजारस्थित स्टुडियोमा आईपुगेका थिए ।

सोहि क्रममा विल्शनले विहिबारबाटै मोफसलका हलहरुमा चलेको फिल्म प्रोड्युसरको प्रचार गर्न समेत भ्याए । विल्शनले यो फिल्मबाट निकै आशा गरेको सुनाए । फिल्मको प्रदर्शनलाई लिएर आफु निकै उत्सुक भएको उनले कुराकानीको क्रममा बताए ।

कमेन्टहरु
Loading...