क्रान्तिकारी पत्रकार संघको स्थापना दिवसमा जनपक्षीय पत्रकारितामा जोड

पोखरा, १५ माघ/क्रान्तिकारी पत्रकार संघ नेपालको १० औं स्थापना दिवसको अबसरमा बुधवार पोखरामा अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी पत्रकार संघ कास्की जिल्ला समिति र गण्डकी मिडिया जिल्ला समितिको आयोजनामा भएको ‘जनपक्षीय संविधान निर्माणमा सञ्चारकर्मीको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले जनसंविधान निर्माणको लागि पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।उनीहरुले जनपक्षीय पत्रकारितामा गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सल्लाहकार तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कोमलनाथ बरालले उत्पीडित जनताको हित गर्ने संविधान निर्माण गर्नुपर्नेमा जोड दिए । ‘विपन्न र उत्पीडित जनताको पक्षमा संविधान निर्माणको लागि सञ्चारकर्मीको बिशेष भुमिका हुन्छ’ बरालले भने, ‘पत्रकारले समाजका उत्पीडित जनताको पक्षमा पत्रकारीता गर्नुपर्छ ।’

जनपक्षीय पत्रकारिता र जनसंविधान निर्माणको लागि पत्रकारले आवाज उठाईरहनुपर्नेमा कार्यक्रममा बोल्ने अन्य बक्ताले जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्धय रुद्र भट्ट, दुर्गा भण्डारी, कास्कीका अध्यक्ष बद्रीबिनोद प्रतिक, एकीकृत नेकपा माओवादी तमुवान राज्य समितिका बरिष्ठ सदस्यद्धय रामजी बराल (जीवन) र बखानसिंह तमु (आभाष), क्रान्तिकारी पत्रकार संघ तमुवानज राज्य समितिका अध्यक्ष एल.पी. बन्जरा लगायतले बोलेका थिए ।

त्यसैगरी फोनिक कास्कीका अध्यक्ष हुम तमु, प्रेस चौतारीका पूर्व उपाध्यक्ष नवराज सुवेदी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोला, क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सदस्य फणिन्द्र अकिञ्चन लगायतले बोलेका थिए । क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत गण्डकी सञ्चार गृहका उपाध्यक्ष रामचन्द्र राईले स्वागत र सञ्चालन दीपक परियारले गरेका थिए ।

जनपक्षीय पत्रकारिता गर्दै आएका पत्रकारहरुको भेलाले २०६१ सालमा रोल्पामा क्रान्तिकारी पत्रकार संघ नेपाल गठन गरेका थिए । तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्ध, देश र जनताको पक्षमा आवाज उठाउँदै आएका पत्रकारहरुको भेलाले संघ गठन गरेको थियो । त्यसको सम्झनामा बुधवार संघले कास्की सहित देशभर स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनायो ।

कमेन्टहरु
Loading...