मुक्तक उत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १४ माघ /नेपाल मुक्तक प्रतिष्ठान, काठमाण्डौको आयोजना तथा मुक्तक मञ्च, पोखराको सहआयोजनामा आगामी माघ १७ र १८ गते हुने मुक्तकसम्बन्धी वृहत् कार्यशाला गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालका मेचीदेखि महाकालीसम्मका मुक्तककारहरुको जमघट हुने कार्यक्रम मुक्तक उत्सवकै रुपमा सञ्चालन हुने मुक्तक मञ्चका अध्यक्ष परिवर्तनले बताउनुभयो ।कार्यक्रमका लागि सहयोगीहरुको खोजी भइरहेको बताउँदै अध्यक्ष परिवर्तनले देशभरका मुक्तककारहरुलाई निमन्त्रणा पठाउने काम जारी रहेको जानकारी दिनुभयो । कार्यक्रमका लागि काठमाण्डौ र पोखराबाहिरबाट आएका स्रष्टाहरुलाई पोखरा उद्योग वाणिज्य संघले १६ गते साँझ एक विशेष स्वागत कार्यक्रम गर्ने मञ्चका उपाध्यक्ष प्राञ्जलले जनाउनुभयो । त्यस्तै १७ गते मुक्तकको रचना विधानसम्बन्धी कार्यपत्र प्रस्तुती र छलफल तथा १८ गते वृहत् मुक्तक गोष्ठीसँगै समापन कार्यक्रम हुने मुक्तक मञ्चले जनाएको छ ।

कार्यक्रमका लागि यसअघि अध्यक्ष परिवर्तनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा दीपकराज त्रिपाठी, प्राञ्जल, रुपिन्द्र प्रभावी, लक्ष्मण थापा, कृष्ण भण्डारी ‘मुमुक्षु’, विष्णु अल्पविराम, सरस्वती प्रतीक्षा, भीम रानाभाट, हेम सुवेदी, उदिपराज ढुङ्गानालगायतका सदस्यहरु रहेका छन् भने सम्पूर्ण पोखरेली साहित्यिक संघ÷संस्थाहरु पदेन सदस्य रहेका छन् भने विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् ।

कार्यक्रममा नेपाली साहित्यमा मुक्तकसम्बन्धी विद्यमान अन्योलहरुबारे व्यापक छलफल गरी मुक्तकको ठोस रुप कायम गर्ने प्रयास गरिने आयोजकले जनाएको छ । कार्यक्रमका लागि रत्नशमशेर थापा, चेतन कार्की, यादव खरेल, उषा शेरचन, राजेन्द्र थापा, डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, ज्ञानुवाकर पौडेल, जयदेव भट्टराई, रमेश पौडेल, बादल घिमिरे, रामकाजी कोनेलगायतको समूह पोखरा आउने कार्यक्रम रहेको छ भने पोखराबाट सरुभक्त, तीर्थ श्रेष्ठ, विष्णु अल्पविराम, दीपक समीप, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, ईश्वरमणि अधिकारीलगायतले मुक्तक सुनाउने बताइएको छ ।

कमेन्टहरु
Loading...