आर्मी आरसिटीसँग पराजीत, मनाङलाई पाँच अंकको अग्रता

रन्जन अधिकारी
पोखरा, १३ माघ/लगातार चार खेलमा बराबरीमा रोकिएको विभागीय टीम नेपाल आर्मीले सोमबार पुछारको टोली रानीपोखरी कर्नर टीम आरसिटीसँग पराजय व्यहोरेपछि सुपर सिक्समा स्थान सुरक्षित गर्ने सम्भावना कमजोर बन्दै गएको छ । सोमबारको अर्को खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेको लिग लिडर मनाङ मस्र्याङ्दीले भने दोस्रो स्थानको थ्रीस्टार भन्दा ५ अंकले अग्रता कायम गरेको छ ।

गत वर्षको लिगमा तेस्रो बनेको आर्मीले जारी लिगमा १० खेल सकिँदा पहिलो दुई खेलमा लगातार जीतपछि स्पष्ट अंक हात पार्न सकेको छैन । उसले त्यसपछि ५ खेल बराबरी खेल्यो भने यो सहित तीन खेलमा हार व्यहोरेको छ । आर्मी १० खेलबाट ११ अंकसहित आठौं स्थानमा छ ।रेलिगेशन जोन पार नगरेको पुछारको टोली आरसिटीले अप्रत्याशित नतिजा निकाल्ने क्रममा आर्मीलाई २–१ गोलले हराएको हो । तीनै गोल खेलको दोस्रो हाफमा भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा आरसिटीका लागि डोना थापा र सुबिन श्रेष्ठले गोल गरेका थिए । आर्मीका जितेन्द्र कार्कीले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आरसीटीले ६४ औं मिनेटमा डोना थापाको गोलबाट अग्रता लिएको थियो । खेलको ७५ औं मिनेटमा सुविन श्रेष्ठले शेखर लिम्बुको पासमा अग्रता दोब्बर पारेका हुन् । ७९ औं मिनेटमा जितेन्द्र कार्कीले पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

एनसेल कप नखेलेका कारण लिग सुरु हुुनु अघि नै ३ अंक गुमाएको आरसीटी १० खेलबाट ४ अंकसहित पुछारमा यथावत् छ । जितसँगै आरसिटीको रेलिगेसनबाट बच्ने संभावना कायमै भएपछि निकै कठिन छ । रेलिगेशनबाट बच्न उसले अब बाँकी दुई खेल जितेर मात्र पुग्दैन, अरुको खेलमा भर पर्नु पर्ने हुन्छ । आर्मीसँगको खेल नजितेको भए आरसिटी लिगका खेल बाँकी रहँदै रेलिगेसनमा पर्ने थियो ।

गत संस्करणको लिगमा दुई पटक भएको भेटमा पहिलो चरणमा आर्मीले आरसिटीलाई २–१ गोलले हराएको थियो भने सुपर एट लिगमा गोलरहित बराबरी खेलेका थिए । यस्तै, सोमबार भएको दोस्रो खेलमा सरस्वतिलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दुरी बढाएको हो । थ्रीस्टारसँगको अंक दुरी ५ बनाउने क्रममा मनाङको जीतमा शिव श्रेष्ठ र योना ईलियसले गोल गरे । जीतपछि मनाङको ९ खेलबाट २२ अंक भएको छ भने समान खेलबाट थ्रीस्टारको १७ छ ।

मनाङले ३७ औं मिनेटमा शिव श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा योना ईलियसले अनिल गुरुङको पासमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । ६४ औं मिनेटमा सरस्वतीले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । पछिल्लो पटक एनसेल कपको समूहचरणमा भएको भेटमा मनाङले सरस्वतीलाई ४–० गोलले हराएको थियो भने गत वर्षको लिगमा सरस्वती विरुद्ध मनाङले ३–१ ले जीत हात पारेको थियो । लिग अन्तर्गत मंगलबार पहिलो खेलमा संकटा क्लब र ब्वाईज युनियन क्लब खेल्नेछन् भने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

कमेन्टहरु
Loading...