गोकुल बानियाँ
पोखरा १२ माघ । हात्तीपाईले रोग बिरुद्धको अभियानको क्रममा यस बर्ष कास्कीमा साढे ४ लाख भन्दा बढीलाई औषधि खुवाईने भएको छ । पाचौ चरणको कार्यक्रम अन्तर्गत माघ २५, २६ र २७ गते कास्कीका ४ लाख ८४ हजार ६ सय १३ जनालाई औषधि खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । यो अभियानको लागि कास्कीमा २७ सय स्वयंसेवक र ३ सय ५० स्वास्थ्यकर्मी तथा १५ सुपरभाईजर खटिने जिल्ला जनस्वास्थ्य प्रमुख रमेश अधिकारीले जानकारी दिए । अघिल्लो बर्ष ४ लाख ७२ हजार २ सय ६ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकोमा ८१ प्रतिशतलाई मात्र यो रोग बिरुद्धको औषधि खुवाईएको थियो ।
आईतवार सम्पन्न जिल्ला समन्वय समितिको बैंठकले हात्तीपाईले बिरुद्धको औषधि खुवाउने अभियानलाई प्रभाबकारी बनाउने निर्णय गरेको छ । तीन दिने अभियान अन्तर्गत यस बर्ष कास्कीका सबै बिद्यालयमा माघ २४ गते सबै बिद्यालयका बिद्यार्थीलाई एकसाथ औषधि खुवाउने कार्यक्रम तय गरिएको छ । हात्तीपाईले बिरुद्धको औषधि खुवाउने कार्यक्रमको औपचारिक सुरुवात गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले अभियान प्रभाबकारी बनाउन आग्रह समेत गरेका छन् ।
नेपालमा कुल जनसंख्याको ९० प्रतिशत मानिस हात्तीपाईले रोगको जोखिममा छन् । गत बर्ष मात्रै पोख।ा उपमहानगरपालिकाको ३ वटा वडामा ९ जना हात्तीपाईलेको रोगी भेटिएको थियो । नेपालका ६१ जिल्लामा यसको संक्रमण देखिएको छ भने उच्च पहाडी र हिमाली १४ जिल्लामा संक्रमण नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सन् २००३ मा पर्साबाट सुरुभएको यो अभियान अन्तर्गत अहिलेसम्म ५ ओटा जिल्लामा औषधि खुवाई सकिएको र संक्रमण भए÷नभएको अनुसन्धानको क्रममा रहेको बताईएको छ । तराईका जिल्लाहरु पर्सा, नवलपरासी, रुपन्देही, चितवन र मकवानपुरमा हात्तीपाईले बिरुद्धको औषधि खुवाईसकिएको छ । सन् २०२० सम्म बिश्वबाट यो रोग उन्मुलन गर्ने लक्ष्य राखिएकोमा नेपालले सन् २०१८ सम्म हात्तीपाईले रोग निबारणको लक्ष्य राखेको छ ।
२ बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, कडा कुपोषण भएका ५ बर्ष मुनीका बालबालिकाले हात्तीपाईले बिरुद्धको औषधि सेवन गर्न नहुने जिल्ला जनस्वास्थ्य प्रमुख रमेश अधिकारीले जानकारी दिए । हात्तीपाईले रोग लागिसकेपछि कुनै उपचार नभएपनि प्रारम्भिक लक्षण देखापरेको अबस्था र रोग लाग्नबाट बच्नको लागि औषधि अनिबार्य सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ । हात्तीपाईले रोग फैलनबाट रोक्नु र बिरामीको संख्यामा कमी ल्याउनुको साथै रोग लागिसकेकालाई अन्य दिर्घ रोग, असक्त, कुरुप हुनबाट बचाउन औषधि खुवाईदै आएको छ ।
हात्तीपाईले बिरुद्धको औषधि सेवन गरेका मध्य केहिलाई सामान्य असर देखिने भएपनि आत्तीनु नपर्ने चिकित्सकहरुले बताएका छन् । औषधि सेवन गरेपछि टाउको दुख्ने, ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, पेट दुख्ने भएपनि आत्तीनु नपर्ने पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. बुद्धी बहादुर थापाले बताए ।
अहिले नेपाल सहित बिश्वका ८३ देशमा यो रोग बिरुद्धको औषधि खुवाउने क्रम जारी छ । सन् २००० देखि २०११ सम्ममा बिश्वका एक अरब मानिसले औषधि सेबन गरिसकेका छन् । यो अबधिमा औषधि सेवनबाट बिरामीको संख्या ४३ प्रतिशत घटेको छ । बिश्वमा एक अरब भन्दा बढी मानिसहरु यो रोगको जोखिममा छन् भने १२ करोड संक्रमित रहेको तथ्याङकले देखाएको छ । दक्षिण एसियामा हात्तीपाईले रोगबाट संक्रमितको संख्या ७ करोड २० लाख छ भने भारतका दुई तिहाई मानिसमा यसको संक्रमण रहेको पाईएको छ ।