भेन्टीलेटरमा सरकार अक्सिजनको खोजीमा जनता

  • सोगात पोखरेल

सिङ्गो देश यतिबेला कोरोना संक्रमणले आक्रान्त बनेको छ । सरकार भने कामचलाउ अवस्थामा धिकिरधिकिर भेन्टीलेटरमा थन्किएको छ । अस्पतालमा सिट भरिएपछि आफ्नो ज्यानको शुरक्षा आँफै लिनु आशयका सुचनाहरु टाँस गरिएको छ । गेटबाहिर हुलका हुल बिरामीहरु भर्ना हुन पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । सुनसान लाग्ने घाटहरु भरिभराउ छ । सामाजिक संजालमा मसानघाटमा जस्तो सन्नाटा छ ।
राजनीतिक दलका नेताहरु सत्ता समिकरणको भागदौडमा व्यस्त छन् । नेताहरुको दौडधुप देख्दा लाग्छ यतिबेला देशमा लिगलिगे दौड भएको छ । कस्ले कस्लाई छप्काएर अगाडी पुग्ने भन्ने प्रतिष्पर्धा नै चलेको छ । उसैगरि संक्रमितका आफन्तहरु अक्सिजन खोज्न उद्योगसम्मै लाइनमा छन् । अक्सिजनको लाइनमा बसिरहदा आफन्तको मृत्युको खबरले टाउको समाएकाहरुको तस्विर पत्रपत्रिका र अनलाइनमा मुख्य समाचार बनेर आइरहेछ ।
आजबाट संक्रमितको संख्या थपिएको,मृतकको संख्या बढेको ,अक्सिजनको अभाव भएको समाचारहरु प्राथामिकतामा पर्न छाडिसके । आजबाट त घाटहरुमा दाउराको अभाव भएको समाचारहरु प्राथामिकतामा परेका छन् । नेताहरुलाइृ हाम्रो आफन्त गुमेको समाचारले उति साह्रो असर गरेको छैन । उनीहरु त मात्र औपचारीकताको लागि गोहिको आँशु झारिरहेका छन् । उनीहरुलाई यतिबेला कुर्चीको चिन्ता छ । नेताहरुको दौडधुप हेर्दा यस्तो लाग्छ कि उनीहरु शवयात्रामा रत्यौली नाँचीरहेछन् ।
मृत्युको खबरले आत्तिएका जनतालाई सरकारले यतिवेला मलम लगाउन सक्दैन न प्रतिपक्षी नै आउँछ चुनावमा झै बोराका बोरा चामल बोकेर ? कारण यतिबेला देशमा महामारी चलिरहेको छ नि त चुनाव होईन । आखिर जनता चाहिने त चुनावमा मात्र त रहेछ । कहिलेकाहि आँफैलाई सोची ल्याउँदा यस्तो लाग्छ हामी त मात्र दशैँका लागि पालि राखिएका एक थान बोका न हौँ । फरक यति हो यो दशैँ पाँच बर्षमा आउछ । उसैगरि पाँच बर्षमा राजनीतिक दलका नेताकार्यकर्ताहरु पनि आउँछन जीन्दाबाद र मुर्दाबादका नारा लगाउँदै हरियो घाँस बोकेर ।
अक्सिजन नपाएर अस्पतालमा नै ज्यान गुमाएकाहरुको आफन्तले आँफैले हालेको भोट सम्झेर आँफैलाई धिकार्दो हो । र सोच्दो हो मनमनै असह्या पिडा हुन्नथियो भने काटेर फालिदिने थिएँ भोट हालेको औला पनि । देश हराएको समाचार सुनेर अक्सिजन भर्ने लाइनमा बसेका आफन्तले सोच्दो हो हावाको हाहाकार सहनुपर्ने कस्तो देशमा जन्मिएछु म ? जुनदेशको सरकारलाई दुईचारथान जनता मर्नु र बाँच्नुले खास अर्थ राख्दैन ।
अहिले नेपालका राजनीति दललाई अक्सिजनको अभावमा रहेका जनता बचाउने कि भेन्टिलेटर रहेको देश बचाउँने ? दोमन भईरहेको होला । तर ति राजनीतिक दलाई देश र जनता भन्दा कुर्ची नै प्यारो छ । त्यसैले एकपटक ठण्डा दिमागले सोचौँ यो महामारीमा हामीलाई न पशुपतिले जोगाउँछ न मुक्तिनाथले नै जोगाउँछ । हामीले आफ्नो शुरक्षा आँफै गर्नुपर्छ सरकार आँफै अशुरक्षित छ । लापरबाहि नगरौँ ।

कमेन्टहरु
Loading...