कपडा व्यवसायी एशोसिएशन पोखराको १४औं साधारणसभा

पोखरा,११ माघ /कपडा व्यवसायी एशोसिएशन पोखराको १४औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले लगाउने र खानेकुराको व्यवसाय नेपालको सबैभन्दा पुरानो व्यवसाय भएको भन्दै उद्योग वाणिज्य संघ स्थापना र संचालनमा यी व्यवसायीकै मुख्य भूमिका रहेको बताए ।उनले पोखरा उप–महानगरपालिकाले व्यवसायीसंग फोहोरमैला शुल्क उठाएकोमा आपत्ति प्रकट गरे । उनले भने–‘आफ्नो घर आँगनको फोहोर व्यवसायी आफैले उठाउँछन्, नगरपालिकाले केही गर्न नपर्दा समेत रकम अशुल्नु गैह्रकानूनी काम हो । त्यसैले मासिक तीनसय रुपैयाँ व्यवसायीले नगरपालिकालाई होइन, नगरपालिकोले व्यवसायीलाई उल्टो तीनसय रुपैयाँ दिनुपर्छ ।’ व्यवसायीलाई फोहोर मैला शुल्क नर्तिन र माग्न आएमा पोखरा उद्योग वाणिज्य संघले निदिन भनेको छ भनेर भनिदिन उनले आग्रह गरे ।

अध्यक्ष कोइरालाले भ्याट र मिसम्याचको कुरा धेरै आएपनि कार्यान्वयन हुन नसकेको भन्दै व्यवसायीमुखी नीति ल्याउनुपर्नेमा जोड दिए । उनले भने–‘हाकिमी प्रवृतिले मिसम्याचको कुरा उठाएर व्यवसायीलाई पेल्ने काम भइरहेकाले सरकार र व्यवसायीबीच सहमति र सहकार्य गदै अघि बढ्न जरुरी छ ।’ सामान खरिद गर्दा सजग भए मिसम्याचबाट अप्ठ्यारो नहुने र मिसम्याचको बारेमा बुझेरमात्र काम गर्न व्यवसायीलाई उनले सुझाव दिए । कपडा व्यवसायी तथा विभिन्न वस्तुगत संघहरूले उद्योग वाणिज्य संघ संग विभिन्न माग राखेको भन्दै उनले ती मागहरूप्रति पोउवासंघ सकारात्मक रहेको रुपष्ट पारे ।

व्यवसायीहरूको समस्या नै पोउवासंघको नीति भएकाले व्यवसायीका समस्या समाधानमा संघले सक्दो पहल गर्ने कोइरालाले आश्वासन दिए । कानून बमोजिम दर्ता गरेका व्यवसायीलाई दर्ता नगरेका व्यवसायीले निकै अप्ठ्यारो पारेको भन्दै कोइरालाले यस विषयमा उद्योग वाणिज्य संघले छिट्टै पहल थाल्ने बताए । संघका अध्यक्ष प्रेमबहादुर भुजेलले सरकारले कपडा व्यवसायीमाथि करको भार थोपरेर ठूलो अन्याय गरेको भन्दै कपडा व्यवसायीमाथि लगाईको कर फिर्ता लिन आग्रह गरे ।

उनले राजस्व नतिर्ने पोके व्यवसायीहरूले सस्टो र टिकाउको प्रलोभन पारी आम उपभोक्तालाई गुणस्तरहीन समानहरू खुलारुपमा विक्रीवितरण गर्दा समेत प्रशासन मुकदर्शक बनेको भन्दै आपत्ति प्रकट गरे । पोखरा उद्योग वाणिज्य संघको हरेक गतिविधिमा कपडा व्यवसायीलाई पनि सहभागी गराउने उनले आग्रह गरे । संस्थाका संस्थापक अध्यक्ष रामजी बाँस्तोलाले कपडा व्यवसायी एशोसिएशन पोखराको स्थापना आफ्नो हक र अधिकारका लागि स्थापना भएको बताए ।

व्यवसायीको अधिकारका लागि बोल्ने छाता संस्था पोखरा उद्योग वाणिज्य संघ भएपनि कपडा व्यवसायीको अधिकार र मागलाई गम्भीरता पूर्वक नलिएको भन्दै उनले व्यवसायीका मागप्रति गम्भीर हुन उद्योग वाणिज्य संघलाई आग्रह गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष मीनबहादुर अधिकारी, साधारण सदस्य मोहन सुवेदी, सल्लाहकार रामचन्द्र र्गौतम, पोउवासंघका सदस्य दिलिप सुवेदी लगायतले आ–आफ्नो भनाई राखेका थिए भने महासचिव लक्ष्मण न्यौपाने वार्षिक प्रतिविदन र कोषाध्यक्ष नविन नापितले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...