‘खुल्ला’ रक्तदान थिएन……………….

माघ ११,पोखरा । मानविय जिवनमा पुण्य कर्मको रुपमा लिइने रक्तदान कार्यक्रम नेपालमा यसअघि खुल्ला रुपमा हुने गर्दथ्यो । जसले पनि कार्यक्रममा भाग लिएर रक्तदान गर्न पाउथे । तर शनिवार पोखरामा यो कार्यक्रम खुल्ला रुपमा गरिएन । सवैले सो कार्यक्रममा भाग लिन पाएनन् । किनकि आयोजकले फरक शन्देश प्रवाह गर्नका लागि यो कार्यक्रम आयोजना गरेको थियो ।

‘अवसर पाए सम्पूर्ण कार्यमा सहभागिता’ नारा दिइएर आयोजना गरिएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले मात्रै सहभागिता जनाए । उनीहरुले मात्रै गरेको रक्तदान कार्यक्रममा ३५ जना बहिरा तथा १० जना दृष्टिविहीन गरि ४५ युनिट रगत संकलन भयो ।

bload copyहेल्पिङ हेण्डस, पोखराको आयोजना तथा भेलोसिटी एजुकेशन कन्सल्टेन्सि तथा टुर्स एण्ड ट्राभल्स प्रालिको सहयोगमा लेकसाइडमा आयोजित सो कार्यक्रमको उद्येश्यनै फरक थियो । दृष्टिविहिन, सुस्तश्रवण तथा अपांगता भएका व्यक्तिहरुको रगत पनि रातै छ, उनीहरुपनि अन्य भन्दा केही फरक होइनन् र उनीहरुपनि कमजोर छैनन् भन्ने शन्देश प्रवाह गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको हेल्पिङ हेण्डस्का अध्यक्ष दिनेश थापाले बताए ।

हेल्पिङ हेण्डस्ले पस्मिना उत्पादन तथा थोक एवं खुद्रा विक्रि गर्दै आएको उनले जानकारी दिए । उद्योगमा अपांगता भएका ३१ जना व्यक्तिहरुलाई तालिम दिई रोजगारी समेत दिइएको छ । त्यस्तै, व्यवसायिक उद्येश्यले सञ्चालन गरिएको भएपनि सामाजिक क्षेत्रमा आ–आफ्नों उत्तरदायित्व पनि छ र त्यो निर्वाह गर्नुपर्छ भनेर कार्यक्रमलाई सहयोग गरेको भेलोसिटी एजुकेशन कन्सल्टेन्सिका अध्यक्ष सुरेशचन्द्र पहारीले बताए ।

यसअघि थापा र पहारीले नेपाल रेडक्रस सोसाइटी, क्षेत्रिय रक्तसंचार सेवाका प्राविधिक अधिकृत अर्जुन ज्ञवालीलाई संयुक्तरुपमा रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले यस्तो कार्यक्रमको अन्य संघसंस्थाले पनि अनुकरण गर्नुपर्ने र अपांगता भएका व्यक्तिहरुलाई हेला होइन समाजकै साझेदार बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सिविआर स्थानिय नेटवर्कका संयोजक खुमराज शर्मा, कास्की नेत्रहिन संघका उपाध्यक्ष विजयप्रसाद लामिछाने, गण्डकी बहिरा संघका अध्यक्ष चन्द्रकान्त पौडेल, महिला शिप विकास संस्थाका संस्थापक रामकली खड्का लगाएतले बोलेका थिए । संचारकर्मि श्रीकान्त सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...