पोखरामा पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता जारी

सागर राज तिमिल्सिना
पोखरा, १० माघ/पोखरामा जारी पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगितामा स्टाडर्ड टिम इभेण्ट्समा बाग्लुङ आर्चरी क्लब प्रथम भएको छ । शुक्रबार कास्की आर्चरी एशोसिएसनसँगको फाइनलमा उसले कुल ६ अंक जोड्दै स्वर्ण जितेको हो । हिमालयन आर्चरी क्लब ललितपुरले मुस्ताङ आर्चरी क्लबलाई पाखा लगाउँदै तेस्रो भयो । कास्की र मुस्ताङले क्रमशः रजत र काँस्य पदक जिते ।

सोही इभेण्ट्सको महिला एकलमा टीआइए काठमाडौकी मानवी न्यौपानेले धरान आर्चरी क्लबकी परिणा राईलाई सोझो सेटमा हराउँदै स्वर्ण जितिन् । तेस्रो स्थानको लागि भएको खेलमा धरानकै हेमलता राई विजयी भइन् । प्रतियोगितामा परिणा र हेमलताले क्रमशः रजत र काँस्य पाए । सोही इभेण्ट्सको स्टाडर्ड पुरुष एकलमा तनहुँ आर्चरी क्लबका दर्शन गुरुङ अब्बल निस्के । उनले फाइनलमा कास्की आर्चरी एशोसिएसनका तिलक पुनलाई पराजित गरी स्वर्ण जिते । तिलकले रजत पाए भने हिमालयन आर्चरी क्लबका अनिल भुजेलले काँस्यमा चित्त बुझाए ।

पोखरामा पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता
पोखरामा पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता

७० मिटरको खुला रिकभ पुरुष एकलमा ६४७ अंकका साथ बारा आर्चरी क्लबका गंगा कुँवर प्रथम, सोही क्लबका मीनबहादुर गुरुङ ६४४ अंकका साथ दोस्रो र हिमालयनका प्रेमप्रसाद पुन ६३७ अंकका साथ तेस्रो भए । अघिल्लो खेलमा मीनबहादुर गुरुङ ६३९ अंकका साथ प्रथम, गंगा कुँवर ६३८ साथ दोस्रो र बाँके आर्चरी क्लबका मुकेश तामाङ ६३६ अंकका साथ तेस्रो भएका थिए ।

सोही इभेण्ट्सको महिलातर्फ ५६४ अंकका साथ हिमालयनकी आयुष तामाङ प्रथम, ५६३ अंकका साथ सोही क्लबकी कृष्णमाया स्याङदेन दोस्रो र अन्नपूर्ण आर्चरी क्लब पोखराकी रेणु तामाङ ४९७ अंकका साथ तेस्रो भइन् । अघिल्लो खेलमा भने रेणुले ५२९ अंकका साथ प्रथम, ५२८ अंकका साथ कृष्णमाया दोस्रो र ५१५ अंकसहित आयुषा तेस्रो भएका थिए । उक्त खुला रिकभ पुरुष र महिला इभेण्ट्सको शुक्रबार हुने अर्कोमा खेलपछि ¥याङ्किङ राउण्डमा प्राप्त कूल अंकका आधारमा स्वर्ण, रजत र काँस्यको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

पहिलो दिनको खेलमा बाराले ७० मिटर ओपन रिकर्भको टिम स्पर्धामा स्वर्ण जितेको थियो भने हिमालयन र बाँके आर्चरी क्लबले क्रमशः रजत र काँस्य जितेका थिए । शनिबार खुला र स्टाण्डर्ड इभेण्ट्स दुबैतर्फको मिक्स टिम तथा खुला एकल पुरुष र महिलातर्फको फाइनल हुने प्राविधिक संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपअन्तर्गत नेपाल आर्चरी संघको आयोजनामा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । विभिन्न इभेण्ट्समा गरी विभिन्न ११ जिल्लाका ६५ जना खेलाडी सहभागी राष्ट्रियस्तरको यो प्रतियोगिता अवलोकन गर्न जाने दर्शकको संख्या भने न्यून छ ।

कमेन्टहरु
Loading...