पोखरामा राष्ट्रिय औद्योगिक ब्यापार मेला, राजनीतिले आर्थिक मुद्दा ओझेल परे–गृहमन्त्री

पोखरा, ९ माघ /पर्यटकीय नगरी पोखरामा विहीबार देखि राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० शुरु भएको छ । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको यो मेलाको गृहमन्त्री माधवप्रसाद घिमिरेले एक औपचारिक समारोहकाबीच उद्घाटन गरे । पोखरा उद्योग बाणिज्य संघको नयाँ बजार स्थित आफ्नै प्रदर्शनस्थल माघ २० गतेसम्म चल्ने यो मेलामा राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादनहरुको बृहत प्रदर्शनी र खरिद बिक्री गरिदैछ । मेलाको उद्घाटन गर्दै गृहमन्त्री घिमिरेले देशको राजनैतिक मुद्दाका कारण आर्थिक मुद्दा छायामा परेको बताए ।

अहिलेको सरकारको मुख्य उद्देश्य विकास निर्माण भन्दा पनि संविधान सभाको निर्बाचन गर्नु थियो भन्दै गृहमन्त्री घिमिरेले अब बन्ने नयाँ सरकारलाई आर्थिक मुद्दा लिएर अघि बढ्न बाटो सहज बनाई दिएको बताए । मेला उद्घाटनका बेलामा वक्ताहरुले पोखरा र नीजि क्षेत्रको हितका लागि राज्यसंग अनगिन्ति माग तेर्साए पछि त्यसको जवाफ दिदैं मन्त्री घिमिरेले अब आफुहरु काम गर्न सक्ने अवस्थामा नभएको बताए । अब बन्ने सरकारले ती कुरामा ध्यान दिने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले सरकारले सबै क्षेत्रमा कायम रहेको सिण्डिकेट हटाउन नसकेको भन्दै सरकारको कार्यशैलीको आलोचना गरेका थिए । उनले सिण्डिकेटका कारण व्यवसायिक स्वतन्त्रता हरण भएको बताएका थिए ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाई दिन राज्यसंग माग गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिबबहादुर कोइरालाले पोखराको समग्र विकासमा राज्यको ध्यान आकर्षण गराएका थिए । उनले राज्यले सहयोग गरेमा पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा पोखराले फड्को मार्न सक्ने दावी समेत गरेका थिए । अधिकांश वक्ताले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल थालनी गर्न माग गरेका थिए । नेपाली नयाँ उत्पादनले सहजै बजार पाउन सकुन र उपभोक्ताहरुले पनि नयाँ उत्पादनका बारेमा सजिलै जानकारी पाउन भनेर संघले हरेक बर्ष पोखरा उद्योग बाणिज्य संघले पोखरामा राष्ट्रिय औद्योगिक ब्यापार मेला आयोजना गर्दै आएको छ ।

औद्योगिक उत्पादन तथा सेवाहरुको वृहत प्रदर्शनी, अटो मेला, हस्तकला मेला, पुष्प मेला, कृषि मेला, सुचना प्रविधि मेला लगायतका थुप्रै उत्पादनहरुको छुट्टा छुट्टै मण्डपको व्यवस्था गरिएकाले पोखरा उद्योग बाििणज्य संघले यो मेलालाई मेलाको पनि मेला भनेको हो । मेलामा पोखराका उत्पादनका लागि विशेष महत्व दिदैं पोखरा मण्डपको व्यवस्था गरिएको छ ।

त्यस्तै ख्याती प्राप्त राष्ट्रिय कलाहरु सहितको सास्कृतिक कार्यक्रम मेलाको थप आकर्षण छ । मेलामा ३ लाख दर्शकले अबलोकन गर्ने र ३० करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकहरुको छ । मेलाबाट करिब ३० लाख रुपैया बचत गर्ने योजना पोखरा उद्योग बाणिज्य संघले बनाएको छ ।

कमेन्टहरु
Loading...