पोखरा । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो उल्लेरी । पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित यो गाउँ प्रकृति र संस्कृतिले सम्पन्न छ । बाहुन, क्षेत्री, गुरुङ, दलित लगायत जातजाति मिलेर बसेको यो गाउँबाट देखिने मनमोहक हिमश्रृंखला तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ । सम्भावना भएर पनि गाउँ पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो २ दशकयता यहाँका स्थानीयले पूर्वाधार विकाससँगै पर्यटकमैत्री संरचना निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।
गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम एवं सभासम्मेलन गर्नका लागि लगभग २० वर्ष अघि समाज घर स्थापना गर्दै यहाँका स्थानीयले सांस्कृतिक गतिविधिलाई पनि अघि बढाउँदै आएका छन् । पोखरा नजिकको राम्रै पर्यटकीय गन्तव्यका रुपमा गाउँको विकास गर्न सकिने अवस्थालाई दृष्टिगत गरी गत वर्षदेखि यहाँका ४ वटा घरमा घरबास सञ्चालन गरिएको उल्लेरी सामुदायिक होमस्टेका सचिव दुर्गाबहादुर गुरुङले जानकारी दिएका छन् । होमस्टेमा आउने पर्यटकका लागि स्थानीय प्रांगारिक उत्पादनका परिकार खुवाउने गरिएको उनले बताए ।
घरबासमा आउने पर्यटकलाई बेलुका आउनासाथ मकै, भट्ट आदिको खाजाका साथै बेलुकाको खाना र विहान नास्ता गरी प्रतिव्यक्ति प्याकेजमा रु एक हजार लिने गरिएको उनले बताएका छन् । यहाँ आउने पर्यटकले गाउँमाथि रहेको थाप्लोमा पुगी टाढाटाढासम्मको हिमाल तथा पहाडी विभिन्न दृश्य एकसाथ अवलोकन गर्न पाउने अर्का स्थानीयवासी जीतबहादुर गुरुङले बताए ।
समुद्री सतहदेखि करिब २ हजार ५६ मिटर उचाइमा रहेको यस ठाउँलाई थाप्ले टाइगर हिलका रुपमा लिँदै यसको प्रवद्र्धन र विकासमा स्थानीयवासीले सक्रियता देखाएको स्थानीय समाजसेवी मीनप्रसाद लामिछानेले बताए । थाप्ले स्थानीयको धार्मिक आस्था र विश्वासयुक्त तीर्थस्थल हो । जनविश्वास अनुसार यहाँ एक जना सिद्ध बाबाले कुटी स्थापना गरी तपस्याका माध्यमबाट ज्ञान प्राप्त गरेका थिए । यहाँ बुद्ध जयन्तीका दिन विशेष पूजाआजा गरिन्छ । मनोकांक्षा पूरा हुने विश्वासका कारण यहाँ पुग्ने सर्वसाधारणले घण्टी र ध्वजा चढाउने गर्छन् ।
थाप्लेबाट पोखरा मात्र नभै लमजुङ, गोरखा, पाल्पालगायत स्थान एक साथ अवलोकन गर्न सकिन्छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशंकरलगायतका हिमाली दृश्यका साथै पञ्चासेको लेक र पाल्पासम्मका दृश्यले जो कोहीलाई लोभ्याउने गरेको थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङले बताएका छन् । थाप्लेमा कास्की र स्याङ्जाका उल्लेरी, गलेम, ढाबा, भुम्दी र मकवानपुर आदि स्थानका सर्वसाधारण श्रद्धा र विश्वासका साथ पूजाआजा गर्न आउँछन् ।
यो ठाउँ प्याराग्लाइडिङको साथै उल्लेरी–भुम्दी–गलेम टोर्के हुँदै पदयात्रा एवं हाइकिङको पनि उत्तिकै सम्भावनायुक्त छ । पछिल्ला दिनमा यहाँको प्रचारप्रसारका साथै पूर्वाधार विकासका कामलाई तीव्रताका साथ अघि बढाइएको होमस्टेका सचिव गुरुङले जानकारी दिएका छन् । उनका अनुसार थाप्लेमा मन्दिर वरपर ४ सय मिटरको पर्खाल निर्माण गरिएको छ भने २ वटा पोखरी बनाइएको छ ।
उल्लेरीदेखि थाप्लेसम्म पुग्नका लागि प्रदेश सरकारको २० लाख सहयोगमा ढुंगाको सिँढी निर्माण गरिएको छ । प्रदेश सरकारकै सहयोगमा कुभिण्डेबाट उल्लेरीसम्म ५ लाखको लागतमा सिँढीबाटो निर्माण भैसकेको उनले जानकारी दिएका छन् । युवाको खेलप्रतिको आकर्षणलाई दृष्टिगत गरी गुरुङकै संयोजकत्वमा १२ लाख २५ हजार सहयोग संकलन गरी हालै बहुउद्देश्यीय बास्केटबल कोर्ट निर्माण गरिएको छ ।
थाप्लेमा पोखरा महानगरपालिकाको सहयोगमा १२ लाखको लागतमा शौचालयका साथै भ्युटावर निर्माण गर्न लागिएको गुरुङले बताए । कुभिण्डेबाट उल्लेरी हुँदै थाप्ले र पञ्चासेसम्मको पदयात्रालाई पनि सँगसँगै अघि बढाउने सम्भावना रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए । ‘हामी उल्लेरीको घरवास सँगै यहाँको पदयात्रा पर्यटनलाई सँगसँगै जोड्दै छौं ।’ उनले भने, ‘पदयात्रा पर्यटनसँगै जाने पर्यटकलाई खान बस्न घरवबासलाई व्यवस्थित गर्दै जानु आवश्यक छ ।’ रासस