दिपक के श्रेष्ठ
वैशाख छ गते गण्डकी प्रदेशमा विपक्षी दलहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि माग गरिएको विशेष अधिवेशन सोमबारदेखि सुरु भएको छ ।
सोमबार सुरु भएको अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले अविश्वासको प्रस्ताव टेबुल गर्दै यसको औंचित्यमाथि प्रकाश पारे । त्यसपछि अन्य संसदले अविश्वासको प्रस्तावउपर पक्ष र विपक्षमा धारणा राखेका छन् ।
प्रस्तावउपर आज मंगलबार पनि सांसदहरुले धारणा राखिरहेका छन् । आजसम्म धारणा र छलफलमा व्यस्त हुने अधिवेशनले भोली मतदानमार्फत प्रदेश सरकारको नयाँ रुपरेखा कोर्नेछ । यद्यपि, वर्तमान सरकार गिराउन विपक्षी दलको गठबन्धनले आवश्यक मत संख्या पु¥याउनु पर्ने हुन्छ ।
गठबन्धनमा ठूला देखिएका २ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भोली हुने मतदानपूर्व सचेत र सशंकित दुबै देखिएका छन् । बुधबार कोही कसैले बाटो नमोडुन् भन्नका खातिर उक्त २ दलका सांसदहरुलाई लेकसाइडको सुविधासम्पन्न मानिएको कुटी रिसोर्टमा राखिएको छ ।
रिसोर्टमा सोमबार २३ रुम बुक गरिएको थियो भने मंगलबार २५ रुम बुक गरिएको छ । रिसोर्ट स्रोतले दिएको जानकारी अनुसार दुबै दलका सांसदकालागि ब्रेकफास्ट, लञ्च र डिनरसहित (अमेरिकन प्लान–एपी) व्यवस्था गरिएको छ ।
रिसोर्टमा केही सांसद २ जनाका दरले एउटा रुममा बसेपनि अधिकांश सांसद एक्लएक्लै बसेका छन् । प्रदेशमा कांग्रेसका १५ र माओवादी केन्द्रका ११ सांसद छन् । सोमबार अधिवेशन स्थगित भएपछि रिसोर्ट पुगेका सांसदहरु प्रायः छलफलमा व्यस्त हुने र अधिवेशनको समय रिसोर्ट छाड्ने गरेका छन् ।
यस विषयमा माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘बुधबार हाम्रो लागि महत्वपूर्ण दिन हो, सामुहिक उद्देश्यकालागि सामुहिक बसाई हो ।’ उनले यस विषयमा गलत नबुझिदिन आग्रह गरे । कर्णाली प्रदेशमाजस्तै फ्लोरक्रस हुने आशंकामा रिसोर्टको बसाई भएको त हैन ? भन्ने प्रश्नमा उनले भने ‘हामी कसैले पनि राजनीतिक बेइमानी गर्दैनौं ।’
रिसोर्टका अनुसार खान र बस्नको सम्पूर्ण सुविधा उपलब्ध गराइएपनि यसको दररेटबारे कुराकानी भएको छैन । ‘हामीले उहाँहरुले भने बमोजिम सेवा उपलब्ध गराएका छौं तर रेटबारे कुरा भएकाे छैन’ रिसोर्टका कर्मचारीले भने ।
प्रदेशमा एमालेसँग २७ संसद छन् । त्यस्तै, विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी पार्टी २ र जनमोर्चाको ३ गरी ३२ सांसद छन् । त्यस्तै, १ स्वतन्त्र सांसद छन् ।