
अर्जुन गिरी
कुनै पनि शासन–प्रसाशनको क्षेत्रमा महिला प्रमुख भए सामान्यतः त्यहाँको आर्थिक पक्षमा पारदर्शिता लगायत सबै काम कार्वाही चुस्तदन्तुरुत हुन्छ भन्ने मान्यता छ । तर निर्मलपोखरी गाविसमा त्यस्तो भएन। निर्मलपोखरी गाविसमा रहेको उप–स्वास्थ्य चौकीमा भ्रष्टाचार गरेको कुरा सेलाउन नपाउदै गाविसमा पनि भ्रष्टाचार भएको खुलासा भएको छ । संयोग नै भनौं यी दुई निकायमा महिला नै प्रमुख छन्।
पोखरा, ९ माघ/यही मंसिर महिनामा निर्मलपोखरी गाविसबाट सरुवा भएकी दमयन्ती पराजुलीले ५७ हजार ३ सय भ्रष्टाचार गरेको खुलासा भएको छ । दमयन्तीले मसलन्द बापतको भुक्तानी भन्दै उक्त रकम कुम्ल्याएको खुलासा भएको हो । २०६९ सालमा अडिट भएको खाताबाट मसलन्द शिर्षकमा राखिएको बिल निकाली २०७० को खातमा पेश गर्दा वास्तविक कुरा बाहिर आएको हो । दमयन्ती भन्दा पहिला सचिवको जिम्मा सम्हालेका दयाराम लामिछानेले २०६९ मा उक्त विलसहित भौचरमा उल्लेख गरी रकम लिएको प्रष्ट छ तर दमयन्तीले त्यसमा रहेको बिललाई प्रयोग गरी गत असोज ८ गते रकम निकासा गरेकी हुन् ।
त्यती मात्र होईन पराजुलीले अन्य हिसावकिताव पुरा गर्न नसक्दा निवर्तमान सचिव गंगादत्त पौडेलले औपचारीक रुपमा कागजातको जिम्मा लिएका छैनन् । हिसाव वुझाएर दमयन्तीले भरपाई लिनु पर्ने हो तर लिएकी छैनन् । कानुन वमोजिम सरुवा भएको २१ दिन भित्रमा हिसावकिताव वुझउनु पर्ने हो तर एक महिना भन्दा वढि भइ सक्दा पनि दमयन्तीले आफ्नो जिम्मेवारी पुरा गर्न सकेकी छैनन् । हिसावकिताव नमिलेको हुनाले आफुले औपचारीक रुपमा जिम्मा नलिएको निवर्तमान सचिव गंगादत्त पौडेलले बताए । पौडेलले भने ‘दमयन्तीले जबसम्म हिसावकिताव स्पष्ट वुझाउनु हुन्न तवसम्म म यो हिसावकिताव लिन्न । त्यसै माथि दमयन्तीले सात आठ महिनामा चालु तर्फ खर्च ४ लाख ३६ हजार र पुजिगत तर्फ २ लाख ९० हजार खर्च भएको देखाउनु भएको छ । यस्तो तालले त यो बर्ष चल्नलाई निकै अप्ठ्यारो देखेको छु । ’
त्यति मात्र नभएर दमयन्तीले महिला लक्षित कार्यक्रम भनेर विना शिर्षकमा रकम आफू खुशी दिएको पौडेलले बताए । महिला कार्यक्रमलाई लक्षित गरी २ लाख १२ हजार ९ सय छुट्याइएको छ जसमा शिर्षक र लागत रकम पनि राखिएको छ । जस अन्तरगत २ समूह ४० देखि ५० जना ३ दिने तालिमको लागि ६० हजार, मसलन्द खर्च, उद्घाटन कार्यक्रमको लागि १० हजार, कानुनी साक्षरता तालिम २५ जनालाई, जसको लागि ४० हजार, अध्ययन अवलोकन भ्रमण ३० जनालाई ७२ हजार ९ सय र प्रसुति सेवा व्यवस्थापन (बर्थिङ सेन्टर) को लागि ३० हजार छुट्याईएको छ । तर दमयन्तीले ति शिर्षक छाडेर तिज गितको लागि शिवालयमा १५ हजार, द्ववारमा १५ हजार र प्रतिक्षलयका लागि ५ हजार गरी ३५ हजार खर्च गरिन् ।
यस विषयमा सचिव दमयन्ती पराजुलीलाई मंगलबार टेलिफोन सम्पर्क गर्न खोज्दा उनको मोबाईल अफ थियो । गाविसमा पुगि बास्तविक कुरा वुझ्दा आर्थिक पक्षमा मात्र नभएर कार्यालय समयमा पनि धेरैजसो उपस्थित नभएर अर्को भ्रष्टचार भएको खुलासा भयो । हाजिर पुस्तिका पल्टाएर हेर्र्दा उनले वैशाख २ गतेदेखी १५ गतेसम्म घर विदा लेखी विदा लिएको र १७ गतेदेखि २३ गतेम्म काज विदा भन्दै त्यस महिनामा २१ दिन विदा लिएको देखिन्छ । त्यसैगरी जेष्ठमा २ गतेदेखि ८ गतेसम्म जिविस काजमा भन्दै र २३ देखी २८ गतेसम्म काज भन्दै १३ दिन विदा लिईन् । असारमा २ गते देखी ७ गतेसम्म केही नलेखी सोझो धर्काले केरी विदा लिएको , १६ गते देखि २० गतेसम्म काज लेखी र २३ गतेदेखि २८ गतेसम्म जिविस काज लेखी १७ दिन विदा लिएको पाइयो । श्रावणमा १ गते देखि ७ गतेसम्म त्यस्तै १७ गते देखि २१ गतेसम्म केही नलेखी सोझ घेरा काटी विदा लिएको त्यस्तै २३ गतेदेखी २५ गतेसम्म घर विदा र २७ गतेदेखी ३१ काज लेखी २३ दिन बिदा लिएकी छन् ।
भदौमा भने २ गतेदेखी ७ गतेसम्म र १७ गतेदेखी २१ गतेसम्म केही नलेखी सोझो धर्का केरी विदा लिएको र २७ गतेदेखी ३१ गतेसम्म काज लेखि १६ दिन विदा बसेको पाइयो । असोजमा १ गतेदेखी ४ गतेसम्म काज र १३ गतेदेखी ८ गतेसम्म काज नै भनेर ८ दिन विदा लिएकी छन । त्यो महिनामा दशै विदा ९ दिन परेको हुनाले उनले जम्मा १४ दिन मात्र काम गरिन्। त्यस्तै कार्तिकमा ३ गतेदेखी ८ गतेसम्म र २४ देखी २९ गतेसम्म काज नै लेखेर उनले १२ दिन बिदा लिईन् ।