पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता तयारी पूरा

पोखरा, ८ माघ/प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपअन्तर्गत पोखरामा बिहीबारदेखि पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता सुरु हुँदैछ । नेपाल आर्चरी संघ नेपालको आयोजना तथा नेपाल आर्चरी संघ कास्कीको संयोजनमा माघ ९ देखि ११ गतेसम्म पोखरा रंगशालामा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संयोजक बसन्त थकालीले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाबाट खेलाडीहरु पोखरा आइसकेका छन् । प्रतियोगितामा ११ जिल्लाका ६५ जना खेलाडीहरु विभिन्न इभेण्ट्समा प्रतिष्पर्धा गर्ने निधो भएको छ । 

तीन दिनसम्म चल्ने सो प्रतियोगितामा खुला र स्टाडण्र्ड रिकभ गरी दुई क्याटगोरीमा यो प्रतियोगिता खेलाइने प्राविधिक संयोजक योगेन्द्र शेरचनले बताए । प्रतियोगितामा स्टाण्डर्ड रिकभमा थ्रिपिस बेम्बोको धनु तथा टेनिङबोबाट खेलाइनेछ भने खुला रिकभमा आधुनिक मेटलको धनु प्रयोग गरिने छ । यसैगरी, खुला र स्टाण्डर्ड इभेण्टतर्फ महिला एकल, पुरुष एकल, पुरुष समूह, महिला समूह र मिक्स टीम गरी पाँच÷पाँच इभेन्ट्स रहने शेरचनले बताए ।

विजयी टीम तथा खेलाडीलाई पुरस्कारस्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष हरिध्वज तुलाचनले बताए । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई एशियन गेमको लागि छनौट गरिने छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ हुने प्रतियोगिता संचालन गर्न २० लाख ३३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले चार लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम उद्योगी, व्यवसायी, आर्चरी खेलका शुभचिन्तक तथा अन्य स्थानीय संघसंस्थाबाट सहयोग संकलन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...