राष्ट्रिय औद्योगिक ब्यापार मेला भोली देखि तयारी पुरा

पोखरा, ८ माघ । पोखरामा आजबाट राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० सुरु हुने भएको छ । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा हुने मेला माघ २० गतेसम्म चल्नेछ । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिए । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजित मेलामा २ सय ७० वटा स्टल रहेका छन् ।

मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री बितरण पनि गरिने छ । मेलामा हेल्भिटाससँगको सहकार्यमा १० वटा स्टलहरु रहने र ति स्टलहरुमा स्वरोजगार चाहनेहरुका लागि विभिन्न जानकारी सहित उद्यमशिलताका लागि आवश्यक पर्ने गतिविधीहरु प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार यसैगरी मेलामा युरोपियन युनियनको सहयोगमा युएन ह्याभिट्याट नामक गैरसरकारी संस्थाले १० वटा स्टलमार्फत लगानी मैत्री, स्वस्थ, भूकम्प प्रतिरोधात्मक, आरामदायी एवं स्थानीयकला र संस्कृति झल्कने वातावरण मैत्री आवास निर्माणलाई अभिप्रेरित गर्ने कार्यक्रम पनि उनले जानकारी दिए ।

मेलामा आकर्षणतर्फ अन्तर उद्योग बाणिज्य संघ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्यकलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ । यस पटकको मेलाको थप आकर्षणमा युगल जोडी नृत्य प्रतियोगिता, पोखराका उत्पादनहरुको प्रदर्शनी तथा बिक्रीका निम्ति तयार गरिएको पोखरा मण्डप र मुक्तिनाथ एयरबाट पोखराको दृष्यावलोकन रहेको छ ।

यसैगरी मेलाको प्रवेश टिकटमा हरेक दिन एक जनालाई गोला प्रथामार्फत सामसुङ मोवाइलको तर्फबाट मोवाइल फोन उपहार दिइने छ । यसैगरी मेलामा बंगलादेश र पाकिस्तानका उत्पादनहरुको स्टल रहने उनको भनाई थियो । मेलामा सर्वसाधारणको लागि ५० र विद्यार्थीको लागि ३५ रुपैयाँ टिकट तोकिएको छ । मेलाबाट ९५ लाख आम्दानी हुने र ६५ लाख खर्च कटाउँदा ३० लाख बचत हुने संघको अनुमान छ । मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा समर्पित रहने संघले जनाएको छ ।

कमेन्टहरु
Loading...