पोखरामा क्याफे कविता बाचन

पोखरा ४, माघ/क्याफे कविताको १३औं शृंखला शनिबार पोखरामा सम्पन्न भएको छ । महिनामा एक पटक क्याफेमा बसेर कविता सुनाउने कार्यक्रम विगतमा राजधानी काठमाडौँमा गरिदै आएकोमा यसपटक पोखरामा आयोजना गरिएको होे । एक वर्षअघि काठमाडौँको ठमेलस्थित एक क्याफेबाट सुरु भएको क्याफे कविता अभियानमा कवि रुपेश श्रेष्ठ, जनक पौड्याल, जोतारे धाइबा र कमलकुमार सदस्य छन् । क्याफे कविता क्याफेमा बसेर कफी पिउँदै कविता सुन्ने सुनाउने एउटा अनौपचारिक कविगोष्ठीका रुपमा चिनिदै आएको छ । शनिबार पोखरामा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले यस्ता अनौपचारिक कार्यक्रमले कविहरुलाई स्वतन्त्र ढंगले आफ्ना रचना प्रस्तुत गर्ने माहौल सिर्जना गरेको बताईन् । सो अवसरमा अल्पविराम, ईश्वरमणि अधिकारी, उदीपराज ढुंगाना, सुमन लम्साल, किसान, पत्थर् योदास लगायत तीन दर्जन नयाँ तथा पुराना पोखरेली कवि कवयत्रीले कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए ।

क्याफे कवितामा वाचन गरिएका कविताका भिडियोहरु क्याफे कविताको वेबसाइट क्याफे कविता डट कममा राख्ने गरिन्छ । प्रविधिसँग नजिक रहेर आयोजना हुने क्याफे कविता बिल्कुलै नौलो ढंगको भएको पोखरामा सहभागी पोखरेली कविहरुले प्रतिक्रिया जनाएका छन् । क्याफे कवितालाई पोखरा ल्याउन पोखराकै गैरसरकारी संस्था संकल्पले पहल गरेकोे हो । पृथ्वीचोकस्थित होटल आनन्दमा भएको कार्यक्रमको इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण पनि भएको थियो

कमेन्टहरु
Loading...