सागर राज तिमिल्सिना
पोखरा, ५ माघ/कास्कीको अर्मलामा भासिएको अध्ययनका लागी गठित समितिले प्रतिबेदन सार्वजनीक गरेको छ । एक हप्ता पहिले नै सरकारलाई प्रतिवेदनक समितिले बुझाएका भए पनि जिल्ला विकास समितिले आइतबार पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनीक गरेको हो । प्रतिवेदनमा वर्षाैअघि अर्मला क्षेत्रमा रहेका खोल्सी (स–साना खहरे) लाई पुरानै अवस्थामा फर्काउन प्राविधिक समितिले सुझाव दिएको छ । खोल्सीलाई पहिलेकै अवस्थामा फर्काएर पानीलाई जमिनभित्र पस्न दिन नहुने प्रतिवेदन सार्वजनीक गर्दै स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले बताए ।
खोस्सीलाई पहिलेकै अवस्था ल्याइदिने हो भने पानी जमिन मुनि पस्न पाउँदैन । जसले गर्दा भासिन रोकिन सक्छ । त्यसका लागि स्थानीयबासि पनि सचेत हुनुपर्छ’ प्रतिवेदनमा उल्लेख छ । हाल बगिरहेको कालिखोलालाई बाधबाधी उचाइमा ल्याउन पर्ने, जथाभावि रुपमा ढुंगागिट्टि निकालिँदा कालिखोला गहिरिएकोले त्यसलाई तत्काल रोक्नुपर्ने, अर्मला आसपासका प्राकृतिक निकासलाई पनि खोल्नुपर्ने सुझाव समितिले दिएको छ । अतिक्रमणका कारण पानीको प्राकृतिक निकास रोकिएको विज्ञको भनाई छ ।
पानीलाई निकास दिन ६ सय ५० मिटरको पक्की नाला निर्माण गरि दुवै तर्फ बायोईन्जिनियरिङ निर्माण गर्ने, हाल मुल फुटी लेदो पानी बगेको स्थानको पक्की सडकसँग समानान्तर हुने गरी पश्चिम तर्फको करिब ३० मिटर लम्बाई र करिब १० मिटरको गहिराई भएको ट्रेन्चमा माटो भरि कमेरो माटोको माथिल्लो लेभलसम्म कम्याक्सन गर्ने लगायतका कुराहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । विपतलाई रोक्नको लागि करिब ७ करोड ६४ लाखको लागतमा विभिन्न संरचनाहरु बनाउनका लागी बजेट समेत प्रस्ताव गरेको छ ।
प्राकृतिक निकास रोकिएकोले पानी भित्रभित्र पस्दा अहिलेको समस्या बल्झेकोले तत्काल निकास खोलिदिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । अर्मला क्षेत्रमा बस्ती बढ्दै गएको र त्यस क्षेत्रका बासिन्दालाई खानि तथा भू–गर्भ विभागको यसअघिको अध्ययनबारे जानकारी नहुँदा जथाभावि पुर्वाधार बनिरहेकोले पुराना प्रतिवेदनबारे पनि जानकारी दिनुपर्ने सरकारी टिमको सुझाव छ ।
खानी तथा भू–गर्भ विभागले सन् १९९८ मा जर्मन संस्थासँग मिलेर गरेको अध्ययनले पोखरा र आसपासका धेरै क्षेत्रलाई भौगोलिक दृष्टिले जोखिमपूर्ण किटान गरेको थियो । जोखिमपूर्ण भनिएका अर्मला क्षेत्रमा अग्ला भवन बनाउनै नहुने विभागले उतिबेलै सुझाएको थियो । तर स्थानीयबासिले त्यसको बेवास्ता गर्दै आएका थिए । त्यसैको वेवस्ताको कारणले अहिले भासिने समस्या आएको विज्ञको ठहर रहेको छ । मंसिर पहिलो साता भासिन थालेको अर्मलामा खाडल पर्ने क्रम अझै पनि रोकिएको छैन । स्थानीयबासिका अनुसार अहिलेसम्म एकसय बढिको संख्यामा फाँटमा खाडल परिसकेका छन्् ।