आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान लमजुङको आदर्श महिला तथा बालविकास केन्द्रलाई

पोखरा, १ माघ/आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान–२०७० द्वारा लमजुङ बेशीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रलाई सम्मान गरिने भएको छ । उत्पीडित महिला तथा द्वन्द्वपीडित एवं असहाय बालबालिकाको सेवामा सो संस्थाले पु¥याउँदै आएको योगदानको उच्चमूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराद्वारा सञ्चालित उक्त सम्मानको वृत्ति रु. एक लाख र सम्मानपत्र रहेको छ । असहाय महिलाहरुका लागि सीपमूलक कार्यक्रम, आर्थिक विपन्न बालबालिकाका निम्ति शैक्षिक वातावरण र बृद्धबृद्धाहरुको भरणपोषणजस्ता लोककल्याणकारी कार्यमा समर्पित व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गरिने सो सम्मानद्वारा तेस्रो पटक आदर्श महिला तथा बालविकास केन्द्रलाई सम्मान गर्न लागिएको हो । यसअघि एचआइभी सङ्क्रमितहरुको संस्था आँकुरा एकल तथा सं्क्रमित महिला समूहकी अध्यक्ष एचआइभीसङ्क्रमित श्रीमती लक्ष्मी अधिकारी र वृद्धाबस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी काठमाडौँकी संस्थापक दिलशोभा श्रेष्ठ सम्मानित भइसकेका छन् ।
यस वर्ष पुरस्कृत व्यक्ति तथा संस्थाको छनौट वरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोलाको संयोजकत्वमा नरेन्द्रमान लालचन, विद्या गुरुङ तथा, प्रतिष्ठानका अध्यक्ष नारायण कार्की र सदस्य सचिव रामबहादुर पौडेल सदस्य रहेको छनौट समितिले गरेको थियो । छनौट समितिको सिफारिसलाई प्रतिष्ठानको मंगलबार सम्पन्न बैठकले अनुमोदन गरेको हो । सो सम्मान माघ ७ गते आमा सेतुली माया शाक्यको सातौं वार्षिकीको पुनीत अवसरमा प्रदान गरिने छ ।
२०४६ देखि उत्पीडित महिलाहरुको सेवामा र २०६० देखि द्वन्द्वपीडित तथा असहाय बालबालिकाहरुको सेवामा समेत समर्पित रही उनीहरुको स्याहार सम्भार, शिक्षादीक्षा, स्वास्थ्योपचार समेतका कार्यमा निरन्तर लागिरहेको आदर्श महिला तथा बालविकास केन्द्रमा हाल २१ जना बालबालिका आश्रित रहेका छन् ।
वि.सं. २०६३ माघ ७ गते आमा सेतुलीमाया शाक्यको देहावसानपछि उनका कान्छा छोरा, पोखराका अग्रज फोटो पत्रकार तथा साहित्यकार विश्वरत्न शाक्यको सक्रियतामा प्रारम्भिक अवस्थामा रु १० लाखको अक्षयकोष स्थापना गरी यस सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको हो । हाल अक्षयकोष रु १६ लाख पु¥याइएको छ ।
यस प्रतिष्ठानले आर्थिक अभाव खेपिरहेका असहाय बालबालिकाहरुको समुचित पठनपाठनका लागि तीन वर्षदेखि बालहितकोष स्थापना गरी ५० बढी बालबालिकाका लागि वार्षिक रु तीन लाखभन्दा बढी रकम छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ ।

कमेन्टहरु
Loading...