पोखरा, ३० पुस/पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले १८ औं नगरपरिषद् मार्फत सार्बजनिक बजेट, निति तथा कार्यक्रम कार्यन्यनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७१÷७२ को लागि ५६ करोड ७७ लाख ७२ हजार अनुमानित बजेट सार्वजनिक गरेको थियो । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनमा ४७ प्रतिशतले बढि भएपनि कार्यन्वयनमा समस्या नरहेको दाबि गरेका छन् ।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा अधिकारीले माघ १ गतेबाटै मनोरञ्जन कर लागु गरीएको र साउन १ गतेबाट एकिकृत सम्पत्ती कर लागु गर्ने जानकारी दिए । त्यस्तै माघ मसान्त भित्र क्षतिपूर्ति सहितको नागरिक बडापत्र जारी गरिने उनले बताए । नगर क्षेत्रका होडिङबोर्डलाई ब्यबस्थापन गर्नुको साथै सार्बजनिक निजि समझेदारी अन्तर्गत फोहोर ब्यबस्थापन गरिने बताए ।
पोखरा नगर क्षेत्रभित्रका पर्यटकिय स्थलहरुलाई समेटेर दृष्याबलोकन शुल्क मार्फत पनि आम्दानीको श्रोत बढाईने नगरपालिकाले जनाएको छ । त्यसको लागि पर्यटन ब्यबशायीसंग कुराकानी भैरहेको भन्दै अधिकारीले प्रति पर्यटक एक हजार रुपैयामा सबै दृष्याबलोकन स्थलको अबलोकनको ब्यबस्था मिलाईने बताए ।
नगरपालिका तर्फको कुल बजेट मध्ये आन्तरिक आम्दानी तर्फ २९ करोड ४० लाख र बाह्य स्रोत तर्फ २७ करोड ३७ लाख ७२ हजार अनुमान गरेको छ । बजेटको रकम मध्ये पूर्वाधार तथा संरचना विकास तर्फ २९ करोड २९ लाख ७६ हजार कुल बजेटको ५२ प्रतिशत, जनसंख्या तथा सामाजिक विकास तर्फ ८ करोड ९० लाख ४६ हजार (१६ प्रतिशत), कृषि, वन तथा वातावरणतर्फ ४ करोड ५७ लाख ५५ हजार (८ प्रतिशत), भूमि तथा जलस्रोततर्फ १ करोड ५५ लाख (२ प्रतिशत) र प्रशासन तथा संगठनतर्फ १२ करोड ४४ लाख ९५ हजार (२२ प्रतिशत) रकम विनियोजन गरिएको अधिकारीले बताउनुभयो । गत आर्थिक वर्षको तुलनामा पुर्वाधारतर्फ २० प्रतिशत थप रकम प्रस्ताव गरिएको छ ।