पोखरा, २८ पुस /दर्पण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । शेयर सदस्यहरुको सहभागितामा भएको साधारणसभाले संचालक समितिको रिक्त रहेको पद समेत पुर्ती गरेको छ । रिक्त रहेको कोषाध्यक्ष पदमा संचालक समिति सदस्य दुर्गाप्रसाद काफ्ले नियुक्त भएका छन् भने संचालक समिति सदस्यमा आनन्दशरण क्षेत्रीलाई नियुक्त गरेको संस्थाले जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोईरालाले सहकारीलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिईन् । सहकारीलाई बलियो बनाउन धेरै शेयर सदस्य आवश्यक भएको भन्दै उनले सहकारीमा शेयर सदस्य बढाउन आग्रह समेत गरिन् । उनले सहकारीले राष्ट्रिय अर्थनीतिमा सकारात्मक प्रभाव पार्नुका साथै बेरोजगारी हटाउनुमा महत्वपुर्ण योगदान दिएको बताईन् ।
संस्थाले साधारणसभाको अवसर पारेर संस्थामै रहेर आर्थिक उन्नतीका लागि उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत समेत गरेको थियो । पुरस्कृत हुनेहरुमा उत्कृष्ट कर्मचारी प्रार्थना केसी, उत्कृष्ट बजार कर्मचारी मिजास तिमिल्सिना, उत्कृष्ट निक्षेपकर्ता नम्रता ढकाल, उत्कृष्ट कर्जा भुक्तानीकर्ता सन्तोषकुमार अग्रवाल, उत्कृष्ट आर्थिक कारोबार गर्ने सदस्यमा डा. आनन्दबहादुर श्रेष्ठ, लक्ष्मी पोखरेल, उत्कृष्ट समन्वयकर्ता प्रबन्ध निर्देशक नारायण खनाल र उत्कृष्ट शेयर सदस्य जगदिश खनाल रहेका छन् ।
साधारणसभामा आर्थिक वर्ष २०६९÷०७० को लेखा परिक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदनमाथि छलफल र अनुमोदन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७०÷०७१ का लागि कोषाध्यक्षको प्रस्तावित आर्थिक प्रतिवेदनमाथि छलफल भई पारित भएको थियो ।
एक वर्ष अगाडि स्थापना भएको दर्पण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चालु पुँजी एक करोड रहेको छ । संस्थाले एक वर्षे अवधीमा ६ करोड रुपैँया निक्षेप संकलन गरि ५ करोड रुपैँया कर्जा प्रवाह गरेको संस्थाका व्यवस्थापक बोधराज रेग्मीले जानकारी दिए । सहकारीका अध्यक्ष विष्णुहरी ढकालको अध्यक्षतामा भएको साधारणसभामा संचालक समितिको तर्फबाट सदस्य विष्णु हमालले धन्यवाद ज्ञापन गर्दै सम्पुर्ण शेयर सदस्यको सहयोगबाट मात्रै संस्था सफल हुने बताए ।