पोखरा, पुस २७ गते /¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले पोखरेली कवि तीर्थ श्रेष्ठका कविताहरुबारे शनिबार पोखरामा परिचर्चासँगै साहित्यकार राजन रिमालको परिचय कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष गनेस पौडेलको अध्यक्षतामा भएको ३६औं कार्यक्रममा ‘कवि तीर्थ श्रेष्ठका कविताहरुको प्रवृत्तिगत अध्ययन’ शीर्षकको छलफलपत्र प्रस्तुत गर्दै समालोचक अनुपमणि अधिकारीले कवि श्रेष्ठलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट कवित्व भएका व्यक्तित्वका रुपमा चिनाउनुभयो ।
कवि श्रेष्ठका कवितामा नेपाली जनजीवनका पाटोहरुलाई सरल र सरस ढङ्गले उठाइएको भन्दै अधिकारीले पोखराले मात्र नभई सिङ्गो नेपाली साहित्यले गौरव गर्न सक्ने प्रतिभा भएको बताउनुभयो । कवि श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट, पाइलाका निबहरुले, महाभारतको गीत र मेरै हिमाल जस्तो कृतिहरु प्रकाशित छन् भने ‘प्रेमको पुस्तक’ कवितासङ्ग्रह निकट भविष्यमै प्रकाशन हुँदै छ ।
यस्तै स्रष्टा परिचयअन्तरगत तनहुँ घर भई हाल कुवेतमा रहनुभएका साहित्यकार राजन रिमालको परिचय दिँदै युवा साहित्यकार अमृत सुवेदी ‘गुराँस’ले विदेशमा रहँदा पनि रिमालले नेपाली साहित्यप्रति देखाउनुभएको लगाव प्रशंसनीय रहेको बताउनुभयो ।

रिमालले कुवेतमा रहेर नेपाली साहित्यिक पत्रिका प्रकाशन गर्दै नेपाली साहित्यकारहरुलाई सङ्गठित बनाउने कार्य गरिरहेका जानकारी गुराँसले दिनुभयो । कार्यक्रममा कवि श्रेष्ठले कविता लेखनको अनुभव सुनाउँदै आफन्तहरुको धापको आशामा कविता लेख्न थालेको र कविता लेखेर आफ्नो सबैभन्दा ठूलो प्राप्ति भएको बताउनुभयो । कविले आफूले जे सोचेर लेख्छ त्यो मात्र त्यसको सीमा त्यतिमै सीमित नहुने भन्दै श्रेष्ठले बहुअर्थी कविता सबल बन्ने बताउनुभयो । उहाँले आफ्नो काव्यिक सोचाइमा परिवर्तन आएको महसुस भएको पनि बताउनुभयो । तरलवादी आन्दोलन छोड्न पर्नुका कारणबारे बोल्दै उहाँले सहयात्रीहरुसँगको मतभेदले आन्दोलन छोडेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले कवि तीर्थ श्रेष्ठले नेपाली कवितालाई पोखराबाटै राष्ट्रिय साहित्यमा चुनौती दिएका बताउनुभयो । यस्तै कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले कवि तीर्थ श्रेष्ठ स्तरीय कविता लेख्ने कविका रुपमा आफूले पाएको बताउनुभयो । उपाध्यक्ष मेहन्द्र रिमालले स्वागत गर्नुभएको कार्यक्रममा पुस्तक छनोट समितिका संयोजक प्रा. डा. विष्णुप्रसाद पौडेलले सोसाइटीको ३७औं शृङ्खलामा आगामी माघ २५ गते रुपिन्द्र प्रभावीले अखण्ड भण्डारीको उपन्यास मलाया एक्प्रेसमाथि परिचर्चा गर्नुहुने जानकारी दिनुभयो ।
कार्यक्रममा सरस्वती प्रतीक्षा, लक्ष्मण थापा, ईश्वरमणि अधिकारी, यादवराज उपाध्याय, महेन्द्र रिमाल, भरत कोइराला, शीतल गिरी, विष्णु पौडेल, डिल्लीप्रसाद ढुङ्गानालगायतले टिप्पणी गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव उपेन्द्र पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पोखरेली कवि तथा गीतकार विनोद गौचनप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।