शनिबार देखि सुरु हुने राष्ट्रिय महिला भलिबलको तयारी पुरा

गोकुल बानियाँ
पोखरा २५ पुष । शनिबार देखि पोखरामा सुरु हुने १८ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल भलिबल संघको आयोजना एबं पश्चिमाञ्चल भलिबल संघको संयोजनमा पुष २७ देखि माघ १ सम्म चल्ने प्रतियोगिताको लागि आबश्यक सबै तयारी सकिएको संयोजक याम बहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रिय महिला भलिबलको तयारी पुरा
राष्ट्रिय महिला भलिबलको तयारी पुरा

आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता सञ्चालनको लागि काठमाण्डौबाट रवर म्याट ल्याई पोखरा रंगशाला स्थित भलिबल कोर्टमा बिछ्याई सकिएको छ । प्रतियोगितामा सहभागि हुने टिमहरु भोलि सम्म पोखरा आईसक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ५ बिकास क्षेत्रका पाच टिम र दुई बिभागिय टिम एपिएफ र पुलिस सहित ७ टिमको सहभागिता रहने संयोजक गुरुङले बताए ।

लिग कम नक आउटको आधारमा खेलाईने प्रतियोगिताको बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र वेष्ट स्पाईकर, सेटर, ब्लकर, डिफेन्स र क्विकरलाई जनही ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको समुह ‘क ’ मा पश्चिमाञ्चल , शसस्त्र प्रहरीको एपिएफ, पूर्बाञ्चल र सुदुरपश्चिमाञ्चल छन् भने मध्यमाञ्चल, पुलिस क्लब र मध्यपश्चिमाञ्चल समुह ‘ ख ’ मा रहेका छन । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल भिड्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५० हजार खर्च अनुमान गरिएको छ । अघिल्लो बर्ष बाग्लुङमा सम्पन्न प्रतियोगिताको १७ औं संस्करणको उपाधि बिजेता पश्चिमाञ्चलको टोलि अहिले प्रशिक्षणमा ब्यस्त रहेको संघका महासचिब डिबि नेपालीले बताएका छन् ।

कमेन्टहरु
Loading...