पोखरा, २३ पुस ः पोखरा १३ कुँडहरमा रहेको भद्रकाली उच्च माविमा एकसातादेखि जारी खेलकुद कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत उमावि र मावि तहमा ५० भन्दा बढी खेलका विधामा छ सय भन्दा बढी विद्यार्थी सहभागी भएको सहप्राचार्य रामप्रसाद आचार्यले बताए ।
मंगलबार विद्यालयकै खेल मैदानमा सम्पन्न भलिबलको फाइनलमा छात्रतर्फ ब्यवस्थापन १२ लाई पराजित गर्दै मानविकी ११ ले जीत हात पारेको छ । उक्त प्रतियोगितामा १३ टिम नै सहभागी थिए । छात्रा भलिबलमा पाँच टिम रहेकोमा ब्यवस्थापन ११ सी विजयी भएको छ यसैगरी छात्र फुटबलमा ब्यवस्थापन १२ सीलाई हराउँदै ब्यवस्थापन ११ सी प्रथम भएको छ । उक्त प्रतियोगितामा १३ टिम सहभागी थिए । यसैगरी मंगलबार नै टेबल टेनिससमेत सम्पन्न भएको उमाविका अतिरिक्त क्रियाकलाप प्रमुख लोकचन्द्र खनालले जानकारी दिए । विद्यालयको खेदमैदान, माछापोखरी मैदान र पोखरा रंगशालमा खेलहरु संचालन गरिएको थियो ।
खनालका अनुसार मावि तहका खेलहरु सोमबार सम्पन्न भएका थिए । विजेताहरुलाई जिल्ला खेलकूद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा उत्कृष्ठ खेलाडी कक्षा ७ मा अध्ययनरत रविन्द्र मल्ललाई संगम क्लबका उपाध्यक्ष एक सेट फुटबल ड्रेससमेत प्रदान गरेका थिए । कार्यक्रममा देवकोटाले विद्यालयतहबाट नै संचालन हुने खेलकूद प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्यद्वय मुक्तिचन्द श्रेष्ठ, मिना घिसिङ, प्रधानाध्यापक घनश्याम रिजाल, शिक्षकहरु माधवप्रसाद आचार्य, लक्ष्मीप्रसाद अर्यालयलगायत सहभागी थिए । प्रअ रिजालले आगामी वर्षहरुमा समेत विद्यालयले नियमित रुपमा खेलकूद कार्यक्रम संचालन गर्ने बताए।