तालाबन्दीले वन विज्ञानको परीक्षा रोकियो

पोखरा, २२ पुस /एकजना विद्यार्थीले परीक्षा दिन नपाएको भन्दै वन विज्ञान अध्ययन संस्थानको परीक्षा शाखा र डिनको कार्यालयमा नेविसंघले २ सातादेखि तालाबन्दी गरेको छ । तालाबन्दीकै कारण संस्थानअन्तर्गतका कलेजहरुमा यो बेला हुनुपर्ने स्नातक तहको परीक्षासम्बन्धी प्रक्रियामा अवरोध पुगेको छ ।

स्नातकोत्तर तहका विद्यार्थी अशोक साहले प्रथम वर्षको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएको भन्दै उनको राजनीतिक संगठन नेविसंघले पुस ९ गतेदेखि तालाबन्दी गरेको हो । क्याम्पसमा नियमित हाजिर नभएको र अन्य ‘प्रोजेक्ट वर्क’समेत नगरेको भन्दै क्याम्पसले साहलाई परीक्षामा सामेल हुन दिएको थिएन । क्याम्पसले परीक्षामा समेत हुन ७० प्रतिशत हाजिर हुनै पर्ने बताएको छ ।

क्याम्पस प्रमुख हरि त्रिपाठीले प्राविधिक कलेज भएकाले विद्यार्थीलाई टर्मपेपर र हाजिरलगायतमा अनिवार्य गर्नुपरेको जानकारी दिए । तालाबन्दीका कारण परीक्षा लगायत कार्य अवरुद्ध भएको बताए । दसैंअघि भएको परीक्षामा साह सामेल हुन पाएका थिएनन् । भदौमा फर्म भर्नबाट उनलाई बञ्चित गराइएपछि आफूहरु त्यतिबेलैदेखि आन्दोलनमा रहेको नेविसंघको क्याम्पस इकाई अध्यक्ष नवीन विश्वकर्माले बताए । स्ववियु सभापतिसमेत रहेका साहलाई पुनः परीक्षाको मौका दिनुपर्ने अडान राख्दै नेविसंघले ताला नखोलेको हो ।

‘संस्थानमा तालाबन्दी नभएको भए अहिले स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको दोस्रो सेमेस्टरको परीक्षा सुरु हुन सक्थ्यो,’ क्याम्पस प्रमुख त्रिपाठीले भने । उनका अनुसार संस्थानअन्तर्गत काठमाडौं, हेटौंडा र पोखरा गरी ३ वटा क्याम्पसको स्नातक तहका तीन वर्षमा ६ सय जति विद्यार्थी छन् । परीक्षा शाखामै तालाबन्दी भएकाले पोखरासहित सबैतिरका क्याम्पसलाई असर परेको क्याम्पस प्रमुख त्रिपाठीले बताए ।

कमेन्टहरु
Loading...