दुर्घटनाबाट मर्नेको सङ्ख्या बढ्दो, सडक सुरक्षा चुनौतीपूर्ण

(सूर्यचन्द्र बस्नेत)
काठमाडौँ, २२ पुस । सडक संरचना, मानवीय तथा प्राविधिक कमजोरी र जनचेतना अभावको कारण सडक सुरक्षा दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । प्रभावकारी सडक सुरक्षाको अभावमा हुने दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या धेरै रहेकाले यो समस्या महामारीजस्तो बनेको छ । नेपालमा दैनिक पाँचदेखि सातजनाको सवारी दुर्घटनाका कारण अकालमा ज्यान जाने गर्छ । वार्षिक यो सङ्ख्या करिब दुई हजार पुग्दछ ।

crash-litters-japanविश्वमा भने वार्षिक १३ लाख बढीले सवारी दुर्घटनाकै कारण ज्यान गुमाउनु परेको तथ्याङ्क छ । तीमध्ये दुई लाख ६० हजार १८ वर्षमुनिका बालबालिका छन् । भारतमै मात्र यो सङ्ख्या डेढ लाख हाराहारी रहेको छ । सडकको विस्तार तथा सवारी साधनको सङ्ख्या अत्यधिक बढ्दै जानु, सवारी चलाउँदा हुने लापरबाही, बढी यात्रु ओसारपसार, मर्मतसम्भार हुन नसकेका सडक, फुटपाथमा हिँड्ने तथा यात्रुको लापरबाही, सडक अतिक्रमण र सडक सुरक्षासम्बन्धी जनचेतनाको अभावले सडक दुर्घटना हुने गरेको छ । द्रूत गतिमा बढेको सहरीकरण, जनसङ्ख्या र सवारी साधनको वृद्विले नेपालमा सडक सुरक्षा चुनातीपूर्ण बनेको छ ।

सडक दुर्घटनालाई घटाउँदै यसबाट हुने धनजनको क्षति न्यून गर्न सडक संरचनाको सुधार, सुरक्षित सवारी चलाउने व्यवस्था, सडक सङ्केतलाई प्रभावकारी बनाउने तथा राजनीतिक प्रतिबद्धतासहित समयानुसार उपयुक्त कानुनी एवम् नीतिगत संरचना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ ।

नेपाल इन्टिग्रेटेड रिसर्च एण्ड डेभलपमेन्ट फाउण्डेसन (निराड) र सडक बोर्ड नेपालले आयोजना गरेको नेपालमा सडक सुरक्षासम्बन्धी सेमिनारका सहभागी विज्ञहरूले उक्त आवश्यकता औँल्याएका हुन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले सडक सुरक्षाप्रति चासो र कार्यक्रम बढेपनि दुर्घटनाको दर भयावहरूपमा बढेको बताउँदै नागरिक समाज, सरकार र सरोकारवाला मिलेर कानुन र यससम्बन्धी नीतिको पुनरावलोकन गरी त्यसको प्रभावकारी कार्यान्वयनमार्फत सडक दुर्घटनालाई न्यून पार्दै लानुपर्ने बताउनुभयो ।

“सडकको कमजोर अवस्था, थोत्रो गाडी, क्षमताभन्दा अत्याधिक भारसँगै चालकले मदिरा खाएर सवारी चलाउने र यात्रु पनि छतमा क्षमताभन्दा बढी चढ्ने क्रमलाई नियन्त्रण गर्नुपर्छ,”–मन्त्री पन्तले भन्नुभयो । उहाँले सडक सुरक्षा परिषद् बनाउने तथा ऐन कानुन र नीतिमा समयानुकूल परिवर्तन गरी सडक सुरक्षाको कामलाई व्यवस्थित गर्न सरकार लागिपरेको बताउनुभयो ।

मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सडक अतिक्रमण र जोखिम लिने प्रवृत्तिले नेपालमा सडक दुर्घटनाको क्रम बढ्दै गएको बताउँदै सडक मर्मत गरेर दुरुस्त राख्दा दुर्घटना कम हुने भएकाले बोर्डले गतवर्षदेखि सडक सुरक्षा कार्ययोजना ल्याएर मर्मतका लागि रकम छुट्याउने गरेको बताउनुभयो । “आधाआधी दुर्घटना चालकका कारण भएको छ, ग्रामीण सडक विस्तार अत्यधिक भएकाले ठूला प्रकृतिको खतरनाक दुर्घटना बढेको छ तर सडक सुरक्षाका उपायले दुर्घटना न्यून गर्न सकिन्छ”–सचिव सिटौलाले भन्नुभयो ।

उहाँले आगामी १० वर्षमा सडक दुर्घटनालाई ५० प्रतिशत घटाएर शून्यतातर्फ लाने गरी कार्यक्रम अघि बढाउने तथा सडक मर्मतका लागि बोर्डले रकम दिने भएकाले मर्मत कार्यमा आत्मनिर्भर हुनेतर्फ काम अघि बढेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालमा सबै तहको सडकको लम्बाइ एक लाख किलोमिटर पुगेको बताउँदै त्यस्ता सडकको मापदण्ड तोकी स्तरोन्नति एवम् गुणस्तरीयतामा ध्यान दिनुपर्छ भन्नुभयो ।

“मानवीय र प्राविधिक कमजोरी तथा सडक संरचनाले पनि दुर्घटना हुन्छ, सबै तहका सडकको स्तर छुट्याएर तीनको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्छ”–डा पोखरेलले भन्नुभयो । निराडका अध्यक्ष एवम् इञ्जिनीयर किशोरकुमार झाले सडक दुर्घटनाका कारण विश्वमा प्रत्येक ६ सेकेण्डमा एकजनाको ज्यान जाने गरेकाले यो महामारीका रूपमा चुनौती बनेको बताउँदै सडक सुधार, सडक सङ्केतको व्यवस्था, मदिरारहित सुरक्षित सवारी चलाउने तथा राजनीतिक प्रतिबद्धतासहित यस क्षेत्रमा आर्थिक सहयोग विस्तार गर्नुपर्ने बताउनुभयो ।

“यो विषयमा विकासोन्मुख देशमा आर्थिक राजनीतिक सहयोग हुन सकेको छैन, प्राविधिक मात्र हैन गरिबी र जनचेतनाको अभावले पनि यो समस्या विकराल बनेको छ”–इञ्जिनियर झाले भन्नुभयो । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक इञ्जिनीयर रमेशनाथ बाँस्तोला दुर्घटना न्यून गर्ने सरकारको प्रतिबद्वतासँगै बोर्डले सडक मर्मत सुधारको कामलाई तीव्रता दिएर सडक सुरक्षामा ध्यान दिएको बताउँदै तत्कालीन, अल्पकालीन र दीर्घकालीन नीति बनाएर यस क्षेत्रमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“सडक मर्मत गर्ने, सूचना बोर्ड तथा सडक सङ्केत दुरुस्त बनाउने, चालकलाई प्रशिक्षण तथा विद्यालयस्तरमा सुरक्षा शिक्षा दिनुपर्छ,” कार्यकारी निर्देशक बाँस्तोला भन्नुभयो । एकदिने सो सेमिनारमा सडक सुरक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूले यसको सुधारका विषयमा छलफल भएको थियो । रासस तस्वीर ः गुगल

कमेन्टहरु
Loading...