पोखरा, २१ पौष/सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराको नवौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको शारीरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्य र ‘स्वास्थ्यका लागि खेल’ भन्ने उद्घोषका साथ महाविद्यालयको खेल मैदानमा विभिन्न खेल सञ्चालन गरी खेलकुद सप्ताह कार्यक्रम आरम्भ भएको छ ।
नयाँ गोरख गणका गणपती एवं महाविद्यालय सञ्चालक समितिका सदस्य प्र.से. श्री सगुन सम्सेर जवराज्यूले ओलम्पिक टर्च बाली, बेलुन उडाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त खेलकुद प्रतियोगितामा सोह्र वर्ष र अठार वर्ष मुनीका छात्र छात्राहरुविच १५सय मिटर दौड सञ्चालन गरिएको थियो भने हाईजन्प र लङजम्प प्रतियोगितामा भने छात्रहरुको मात्र सहभागिता रहेको थियो । उक्त कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल श्री खेमराज देवानज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने महाविद्यालयका सैनिक सम्पर्क अधिकृत प्र.से. श्री मोहनचन्द्र गुरुङ्गज्यूले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रमुख अतिथि प्र.से. जवराले महाविद्यालयले वार्षिक रुपमा मात्र नभई अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु विभिन्न समयमा सञ्चालन गर्दै आएको र क्षेत्रीय एवं राष्ट्रिय रुपका प्रतियोगिताहरुमा पनि सहभागी भई विभिन्न उत्कृष्ठ पुरस्कारहरु प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै महाविद्यालयलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा सम्पन्न दौड प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई प्रमाण–पत्र एवं मेडल प्रदान गरी पुरस्कृत गरिको थियो । महाविद्यालयका छात्रछात्राहरुबाट नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गान गाई विधिवत रुपमा संचालन गरिएको थियो ।