पोखरा १९ गते /पोखरा उपत्यकाको यातायात व्यवस्थापन सुधार्न गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराले नागरिक समाजसंग सहकार्य गर्ने भएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीको टोलीसंग भएको भेटमा कार्यालय प्रमुख देवीराम भण्डारीले सवै सरोकारवाला निकायको समन्वयले मात्रै यहाँको यातायात क्षेत्र व्यवस्थित वन्ने वताउनुभयो ।
टि.आई नेपालका पूर्वउपाध्यक्ष एवं सुनासका सल्लाहकार आनन्दराज मुल्मी, अध्यक्ष पुण्य पौडेल, शान्तिका लागि नागरिक समाज संजालका संस्थापक टेकनाथ वराल, पूर्वअध्यक्ष नवदत्त दुङ्गाना ईन्सेक पोखराका संयोजक शिव खकुरेल सहित गएको टोलीले यातायात कार्यालय प्रमुखलाई पोखरा उपत्यकाको यातायात व्यवस्थापनमा देखिएका समस्याहरुको वारेमा अवगत गराएको कार्यक्रम अधिकृत भानभक्त पराजुलीले जानकारी दिनुभयो ।
भेटमा गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख देवीराम भण्डारीले पर्याप्त स्रोत र साधनको अभाव तथा विभिन्न सरोकारवाला निकायसंगको प्रभावकारी समन्वय नहुँदा धेरै काम हुन नसकेको गुनासो राख्नुभयो । कार्यालय प्रमुख भण्डारीले भन्नुभयो– २४ जना दरवन्दीका कर्मचारी र ८ जना करारका कर्मचारीले दैनिक एक हजार सेवाग्राहीलाई सेवा दिनुपर्छ, कसरी यहाँको सेवा प्रभावकारी होस् । नागरिकलाई प्रभावकारी सेवा दिन क्षतिपूर्ति सहितको नागरिक वडापत्र पनि राखियो, कार्यालय प्रमुख भण्डारीले थप्नुभयो,–पोखराका गाडीको अवस्था नापजाँज गर्ने अर्थात धुँवाको मुस्लो जाँच्ने उपकरण नै सरकारले उपलव्ध गराउन सकेको छैन् कसरी गाडी ठिक भए नभएको थाहा पाउने ।
सरकारले वनाएको रुट ईजाजत नै नीतिगत ठिक नभएको कारण सहज काम गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । जिल्ला विकास समिति, गाँउ विकास समिति तथा स्थानिय नागरिक मार्फत विना सर्भे वाटो खन्ने र सडकको अवस्था नापजाँच नै नगरी सडक अनुमति माग्छन्, नदिउँ कार्यालय नै घेर्न आउँछन्, राजनीतिक दवाव दिन्छन् के गर्ने ? उहाँले गुनासो पोख्नुभयो । पोखराको यातायात व्यवस्थापन गर्न सवैभन्दा पहिले यहाँको वसपार्क व्यवस्थित वन्नुपर्ने, रुट निर्धारण हुनपर्ने तथा नगर वसपार्क मात्रै व्यवस्थित गर्न सकियो भने पनि धेरै सुधार हुने उहाँले वताउनुभयो ।
टि.आई नेपालका पूर्वउपाध्यक्ष मुल्मीले सडक र मोटरेवल पुलको भारवहन क्षमता भन्दा वढि गरुङ्गा गाडी चल्ने गरेको पाईएको छ, यसको प्रभावकारी अनुमगन गर्न आग्रह गर्नुभयो । यातायात कार्यालय आफैले सम्पादन गर्नुपर्ने काम किन कर्मचारी वाहेकका नागरिक मार्फत गर्ने गरिएको हो, यो कार्य नियन्त्रण गर्न सकिन्छ, कि सकिदैन् मुल्मीले कार्यालय प्रमुख भण्डारीलाई जिज्ञासा राख्नुभयो । सुनासका अध्यक्ष पुण्य पौडेलले पोखरा उपत्यकाको यातायात व्यवस्थापन चुस्त दुरुस्त राख्ने जिम्मेवार निकाय को हो ? ट्राफिक कार्यालयले गर्नुपर्ने र यस कार्यालयले गर्नुपर्ने काम कस्तो हो ? कमजोर यातायात व्यवस्थापन सुधार गर्न किन नसकिएको प्रश्न गर्नुभयो । शान्तिका लागि नागरिक समाजको संजालका संस्थापक टेकनाथ वरालले भाडामा एकरुपता कायम हुनुपर्ने तथा आरक्षण तोकेको ठाँउलाई प्रभावकारी अनुमगन गर्नुपर्ने सुझाव दिनुभयो ।