यौन व्यवसाय प्रहरीका लागि चुनौती

रेम बिक
पोखरा, १८ पुस /कानुनतः यौन व्यापार अवैध भएपनि पछिल्लो समय यो कुरा प्रशासनको लागि चुनौती बनेको छ । यौन क्रियाकलाप रोक्ने विभिन्न अभियान चलाएपनि कास्कीमा प्रहरीले यसलाई नियन्त्रण गर्न सकेको छैन ।

केहि महिना अगाडीमात्रै दिनदहाडै पोखराको एउटा होटलबाट जोडी जोडी समाएको प्रहरीले बुधबार मात्रै अर्को तीन जोडीलाई पक्राउ गरेको छ । तीन युवती र तीन युवकलाई प्रहरीले ‘आपत्तीजनक’ अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले छुट्टाछुट्टै होटल तथा रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

कास्की प्रहरीले पनि अवैध यौन क्रियाकलाप पुर्ण रुपमा रोक्न नसकिने बताउँदै आएको छ । अधिकारकर्मीहरुले केहि समय अगाडी यौन व्यवसायलाई ‘रेड लाईट एरिया’ घोषणा गरेर वैध बनाउनुपर्ने माग समेत राखेका थिए । यद्यपी स्थानिय प्रशासनले भने सरकारबाटै यस विषयमा सम्बोधन नभएको खण्डमा स्थानियस्तरमा केहि गर्न नसकिने बताउँदै आएको छ ।

तथ्याङ्कअनुसार पोखरामा करिब १५ सय जना यौन व्यवसायमा संलग्न युवतीहरु छन् । पछिल्लो समय केटाहरुको पनि यस्ता क्रियाकलापमा संलग्नता बढेको स्रोत बताउँछ । तेस्रो लिङ्गिहरुको पनि यौन व्यवसायमा संलग्नता रहने गरेको स्रोतले जानकारी दिएको छ ।

विशेषगरि रात्रीकालिन समयमा रसरंग हुने ठाउँहरुबाट यस्ता व्यवसायले अझै बढि गति लिने गरेको जानकारहरु बताउँछन् । प्रहरीले पनि यो कुरालाई पुस्टी गरेको छ । यस्ता क्रियाकलाप रोक्नका लागि कास्की प्रहरीले विशेष टोली खटाएको छ ।

हतियार सहित पक्राउ

भरुवा बन्दुक लिएर हिँडेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अर्मला गाविस १ धारापानीका विष्णुप्रसाद आचार्यलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुक अवैध रहेको प्रहरीले जानकारी दिएको छ । आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...