प्याब्सन कास्कीद्वारा सल्लाहकार समितिलाई सम्मान

पोखरा, १७ पुस। प्याब्सन कास्कीले प्याब्सन दिवस तीन दिने कार्यक्रमसहित मनाउने भएको छ। प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको चौथो नियमित बैठकले पुस २४ गते पर्ने प्याब्सन दिवसलाई तीन दिवसीय रूपमा मनाउने निर्णय गरेको हो।

जसअनुसार पुस २२ गते लेखनाथ गगनगौंडास्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धवृद्धालाई कपडा वितरण गर्ने, २३ गते पोखरा उद्योग वाणिज्य सङ्घसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने र अन्तिम दिन पुस २४ गते सूचना, सञ्चार तथा शिक्षा मन्त्री माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम शिक्षाविद् एवं शिक्षासँग सरोकारवाला सङ्घसंस्थासँग अन्तरक्रिया गर्ने तथा २५ वर्ष पूरा गरेका प्याब्सनसँग आवद्ध विद्यालयहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीका सचिव षडानन्द गौतमले जानकारी दिए।

२५ वर्ष पूरा गरेका कास्कीमा करिब एक दर्जन विद्यालय रहेका छन्। बैठकमा संस्थाका सल्लाहकारहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। सम्मानित हुनेमा वरिष्ठ सल्लाहकार हिमाञ्चल बोर्डिङ स्कुलका प्रिन्सिपल धु्रव केसी, प्रमुख सल्लाहकार निवर्तमान अध्यक्ष एवं पश्चिमाञ्चल उमाविका संस्थापक निदेशप्रसाद कोइराला, सल्लाहकारहरू लिटिल स्टेप उमाविका संस्थापक प्रिन्सिपल शेरबहादुर गुरुङ, सृजना उमाविका संस्थापक प्रिन्सिपल डोलराज पाण्डे, सरस्वती आदर्श विद्याश्रम लामाचौरका संस्थापक प्रिन्सिपल गणेशमानसिंह भण्डारी, ग्लोबल कलेजियट उमाविका संस्थापक प्रिन्सिपल बाबुराम पन्त र टप्स उमाविका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङ रहेका छन्। संस्थाको अघिल्लो बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो।

कमेन्टहरु
Loading...