दुई महिना भित्र हिंसा पिडित यौनिक तथा लैङ्गिक अल्पसंख्यकको तथ्याङ्क आउने

गोकुल बानियाँ / पोखरा १६ पुष । नेपालमा हिंसा पिडित यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको छुट्टै तथ्याङ्क संकलनको काम सुरु भएको छ । मानबअधिकारको क्षेत्रमा कृयाशिल बिभिन्न संघ संस्थाले समय समयमा मानबअधिकार उल्लंघनका घटना र त्यसबाट पिडितको तथ्याङ्क सार्बजनिक गर्दै आएपनि यो समुदायका पिडितको एकिन तथ्याङ्क नरहेकाले छुट्टै अभिलेखिकरणको काम थालिएको हो ।

दक्षिण एसियाली सिमान्तकृत यौनिक तथा लैङ्गिकताको मानबअधिकार सञ्जालले निलहिरा समाजको सहकार्यमा तथ्याङ्क संकलनको काम गरिरहेको छ । देशभर रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मानबअधिकारको अबस्था र पिडितको तथ्याङ्क समेटिएको रिपोर्ट आगामी दुई महिना भित्र प्रकाशित गर्न लागिएको सञ्जाल नेपालकी कन्ट्री अफिसर दुर्गा थापाले जानकारी दिईन् ।

‘देशभरको अबस्थाबारे जानकारी लिने काम अन्तिम चरणमा पुगेको छ , थापाले भनिन् ‘ सन् २०१३ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि भएका हिंसाको बार्षिक प्रतिबेदन दुई महिना भित्र सार्बजनिक हुनेछ ।’ प्रतिबेदनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरु कति हिंसामा परेका छन् भन्ने छर्लङग पार्ने अपेक्षा गरिएको छ । घरपरिवार र समाजबाट अमानबिय ब्यबहार खेप्न बाध्य भएको, घरभित्रै बिभिन्न किसिमका हिंसामा परेको भएपनि पिडित न्यायको लागि खुलेर आउन सक्ने अबस्था नरहेको अधिकारकर्मीहरुले बताएका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको संस्था निलहिरा समाजको देशभर रहेका कार्यालयको सहयोगमा हिंसा पिडितको तथ्याङ्क संकलन गरी अभिलेख राखिने भएको छ । संकलित तथ्याङ्क राष्ट्रिय मानबअधिकार आयोग, ईन्सेक लगायतका संस्थामा बुझाईने र उनिहरुले सर्बजनिक गर्ने प्रतिबेदनमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मानबअधिकारको अबस्था समाबेश हुने अधिकारकर्मी भूमिका श्रेष्ठले बताईन् । उनका अनुसार यसको लागि सम्बन्धित सरोकारवालसंग छलफल भैसकेको छ ।

राष्ट्रिय मानबअधिकार आयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मानबअधिकार सम्बन्धि छुट्टै डेक्स भएपनि यो समुदायका हिंसा पिडितको छुट्टै तथ्याङ्क भने छैन । अभिलेखिकरणको अभाबमा अहिलेसम्म यो समुदायका कति पिडित भए भन्नेबारे आधिकारिक जानकारी लिन सक्ने अबस्था नभएको बताईएको छ ।

यसकै लागि देशका बिभिन्न जिल्लामा रहेका निलहिरा समाजका कार्यालयमा मानबअधिकारको क्षेत्रमा काम गर्नेहरुलाई प्रशिक्षित गर्ने काम सम्पन्न भएको छ । मानबअधिकार उल्लघंनको घटना, अभिलेखिकरण, वकालत लगायतका बिषयमा पोखरामा दुई दिने प्रशिक्षण मंगलवार सम्पन्न भएको छ ।

दक्षिण एसियाली सिमान्तकृत यौनिक तथा लैङ्गिकताको मानबअधिकार सञ्जाल संगको सहकार्य तथा निलहिरा समाज र यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघद्धारा आयोजित तालिममा पश्चिमाञ्चल र मध्यमाञ्चलका बिभिन्न जिल्लामा मानबअधिकारको क्षेत्रमा कार्यरत ३० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सहभागिता थियो ।

कमेन्टहरु
Loading...