निजी खर्चमा दुई महिलाले बनाइदिए संग्रहालय

मनाश्लुको काखमा पर्यटक बोलाउँदै भाचोक
भाचोक (कास्की), १६ पुस/कास्कीको पूर्वोत्तर भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका दुई महिलाले संस्कृति संरक्षण र सिंगो गाउँको पर्यटकीय विकासलाई मध्यनजर गर्दै आफ्नो निजी खर्चमा गाउँमा गुरुङ संग्रहालय निर्माण गरिदिएका छन् । स्वर्गीय श्रीमान जोगवहादुर गुरुङको स्मृतिमा श्रीमतिद्वय मिसिरी गुरुङ र लोककुमारी गुरुङले यो संग्रहालय निर्माण गरिदिएका हुन् । लम्तरी युवा क्लव र सिंगो गाउँले संग्रहालय निर्माणका लागि श्रमदान समेत गरेका थिए । झण्डै तीन लाख रुपैयाँको लागतमा यो गुरुङ संग्रहालय निर्माण गरिएको स्थानीय लम्तरी युवा क्लव भाचोककी उपाध्यक्ष पवित्रा गुरुङले जानकारी दिइन् ।

Museum house.श्रीमतिद्वयले भवन निर्माण देखि संग्रहालयमा राखिएका सामान संकलनमा समेत सहयोग गरेका थिए । पुराना सामानहरु संकलनको काम अहिले पनि जारी रहेको निर्माण कर्ता श्रीमति मिसिरी गुरुङले जानकारी दिइन् । “पहिला पहिला त पुराना सामान के काम भनेर फालियो पनि,”उनले भनिन्– अहिले बल्ल महत्व बुझेर त्यस्ता सामानको थप संकलन तिर लागिएको छ । गाउँको पहिचान, गुरुङ संस्कृतिको पहिचान र क्लवको आग्रह अनुसार आफूले संग्रहालय निर्माण गरिदिएको मिसिरीले बताइन् । “अलि अलि धन त अहिले को सँग हुँदैन र,”उनले भनिन्– सबैभन्दा ठूलो कुरा मन नै हो, त्यसैले संग्रहालय बनाइदिएँ ।

संग्रहालयमा गाउँलेहरुले पुराना सामानहरु जम्मा गरेका छन् । ठेकी, मदानी, हलो, जुवा, पुराना गाग्रीहरु, भाँग्रा, रक्सी बनाउने भाँडाहरु लगायत दर्जनौं सामाग्रीहरु संग्रहालयमा संकलित छन् । दुई तले यो संग्रहालयको तल्लो र माथिल्लो दुबै तलामा सामानहरु राखिएका छन् । संग्रहालय अहिले निशुल्क अवलोकन गर्न सकिन्छ । संग्रहालयले गाउँ आउने पर्यटकलाई गुरुङ संस्कृति बुझाउन, संस्कृति संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउन समेत सघाउने विश्वास गाउँलेहरुले लिएका छन् ।

भाचोक गाउँलाई आफूहरुले पर्यटकीय गाउँको रुपमा विकास गर्न चाहेको स्थानीय क्याप्टेन मानवहादुर गुरुङले बताए । भाचोक गाउँका ७५ भन्दा बढी घरमा मानिसहरु बसोबास गर्छन् । यो गाउँ गुरुङ जातिको बाहुल्य रहेको गाउँ हो । पोखराबाट लेखनाथ नगरपालिका अनि कालिका, माझठाना गाउँ हुँदै दुई घण्टाको मोटर यात्रा पछि भाचोक पुग्न सकिन्छ । गाउँमा विद्युत र पानीको व्यवस्था पनि गरिएको छ ।
पछिल्लो क्रममा गाउँमा होमस्टेको समेत व्यवस्था गरिएको लम्तरी युवा क्लवले जानकारी दिएको छ । भाचोकमा ११ घरमा होमस्टेको सुविधा उपलब्ध छ । यिनमा करिव ५० विस्तारा छन् ।

सादा खानाको एक सय रुपैयाँ मूल्य तोकिएको छ । विस्ताराको पनि एक सय रुपैयाँ नै तोकिएको छ । गाउँमा आउने पाहुनाहरुले घरवारीमा फलेको पिनालु, तरुल, भट्ट, मकै जस्ता अर्गानिक परिकार समेत चाख्न पाउने स्थानीय गृहिणी सावित्री गुरुङले बताइन् । यहाँका बासिन्दाले आफूहरुलाई अतिथि सत्कार सम्वन्धि तालिमको जरुरी भएको पनि बताएका छन् । यसका लागि नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र पर्यटनसँग सम्वन्धित संस्थाले सघाउनुपर्ने गाउँलेले बताए ।

समुन्द्र सतहबाट दुई हजार दुई सय मिटरको उचाईमा रहेको यो गाउँ गुरुङ संस्कृति र पुराना घरका हिसावले आकर्षक रहेको छ । लम्तरी डाँडा, रानी पोखरी, मन्दिरहरु, लालीगुराँस, मनाश्लु हिमालको दृष्य लगायत पनि यो गाउँका आकर्षण हुन् । ताङतिङ, सिक्लेस, याङ्जाकोट हुँदै कहिलेकाँही विदेशी पर्यटक यहाँ रात विताउन पनि आउने गरेका छन् । खासगरी पर्यटकका लागि दुई रात तिन दिनको नयाँ पर्यटकीय गन्तव्य भाचोक गाउँ हुन सक्ने अध्ययन स्थानीय युवाहरुले गरेका छन् । लम्तरी डाँडा, करापु हुँदै पवित्र तीर्थस्थल दुधपोखरी निक्लिएर चर्चित अन्नपूर्ण चक्रीय मार्गमा निक्लने पदयात्राका लागि समेत भाचोक प्रस्थान विन्दु हुन सक्ने गाउँलेले बताए । भाचोक गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समेटेको क्षेत्र भित्र पर्छ । हालै गाउँमा छैटौ लोसार मेला समेत सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...