खुल्ला बुद्धिचाल प्रतियोगितामा सम्पन्न

पोखरा पुस १५/कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा संचालित पाचौं खुल्ला बुद्धिचाल
प्रतियोगितामा सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा ५८ जना
प्रतिस्पर्धीलाई पछि पार्दै ६ अंकका साथ भूमिप्रसाद गुरुङ प्रथम भएका छन् ।

उनले सातहजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै अमर
गुरुङ द्वितीय, विनोद नाल्मी तृतीय तथा बुद्धिराज शर्मा चौथो हुन सफल भए ।
उनीहरूले क्रमशः चारहजार, दुई हजार र एकहजार नगद पुरस्कार तथा प्रमाणपत्र
प्राप्त गरेका छन् । यस्तै पाचौंदेखि ११औं स्थान हासिल गर्ने खेलाडीहरू
महेश्वर अधिकारी, अनिलबहादुर कोइराला, श्यामसुन्दर ताम्राकार, प्रेम भट्टराई,
किरणकुमार रञ्जित, अमृतकुमार श्रेष्ठ, घनश्याम बोगटी र महिला
सहभागीहरूमध्येबाट प्रथम हुने ईच्छा रोका एवं १५ वर्ष उमेर समूहबाट सुवास
क्षेत्री समेतलाई विशेष पुरस्कार अन्तर्गत जनही रु.पाँचसय र सहभागिताको
प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि तथा वरिष्ठ बुद्धिचाल खेलाडी ड्यूग्लास मक्लागमले पोखरामा
बुद्धिचाल खेलको प्रशस्त सम्भावना रहेको भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता
दिन आग्रह गरे । संघका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको
संचालन सचिव महादेव पहारीले गरेका थिए । प्रतियोगिताको निर्णायकमा
लेखनाथ अधिकारी, कर्ण गुरुङ, महादेव पहारी रहेका थिए ।

स्थानीय तहमा बुद्धिचाल खेलको गतिविधि बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पोखरालाई
चिनाउने लक्ष्यका साथ यहि पुस १२ गते शुक्रबारदेखि प्रतियोगिता आयोजना
गरिएको थियो । सात चरणमा सम्पन्न प्रतियोगिता स्वीस लिग अनुरुप संचालन
गरिएको थियो ।

कमेन्टहरु
Loading...