सभासदहरुलाई पोखरा उद्योग बाणिज्य संघको सम्मान

पोखरा, १५ पुस । कास्कीबाट प्रत्यक्षतर्फ निर्वाचित चारैजना सभासदले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विकासको पहिलो एजेण्डा भएको बताएका छन् । उनीहरुले एक वर्षभित्र संविधान निर्माणका लागि पहल गर्ने र बाँकी समय विकास निर्माणमा ध्यान दिने वचनवद्धता पनि प्रकट गरेका छन् । पोखरा उद्योग बाणिज्य संघले सोमबार कास्कीबाट प्रत्यक्षतर्फको संविधासभा निर्वाचनमा विजयी उम्मेदवारहरुको सम्मानमा आयोजना गरेको बधाई, स्वागत एवं कास्की जिल्लाको विकासमा सभासदहरुको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनीहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका विजेता सभासद यज्ञबहादुर थापाले आफ्नो एक नम्बरको प्राथमिकतामा रहेको बताए । उनले चक्रपथ निर्माण, ताल संरक्षण र बसपार्क निर्माण पनि कास्कीको लागि प्राथमिकताकै विषय भएको उनको भनाई थियो । कार्यक्रममा भावुक बनेका थापाले आफू निर्वाचन अघीकै यज्ञबहादुर भएको उल्लेख गर्दै भने–‘यज्ञबहादुर थापा उही हो, सभासद मात्र बनाई दिनुभएको हो, म कास्कीको जनताको साथमै छु ।’ कास्की क्षेत्र नम्बर २ बाट सभासद बनेकी सारदा पौडेलले पोखरालाई धार्मिक पर्यटकीय गन्तब्यको नाका बनाउने, विमानस्थल निर्माण र यहाँका अन्य पूर्वाधार निर्माणमा जोड दिने बताइन् ।

कास्की क्षेत्र नम्बर २ बाट सभासद बनेका रवीन्द्र अधिकारीले पोखरेलीले ठानेजस्तो, सोचेजस्तो काम भए नभए पनि आफूले राम्रो प्रतिनिधीको छवी बनाउने प्रतिवद्धता जनाए । विमानस्थल निर्माण,पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गराउने लगायतका विकासे गतिविधी पनि आफ्नो चासो र सरोकार भएको उनको भनाई थियो । यसैगरी कास्की क्षेत्र नम्बर ४ बाट सभासद निर्वाचित सीता गिरी वलीले स्थायित्व पहिलो प्राथमिकता भएको उल्लेख गर्दै संविधान निर्माण र विकास निर्माणलाई सँगै अगाडि बढाउने प्रतिवद्धता जनाइन् । यस अघि कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले सभासदलाई फूलमाला, खादा तथा अविर लगाएर सम्मान गरेका थिए ।

उनले आफ्नो स्वागत मन्तब्यमा पोखरा र पश्चिमाञ्चललाई पर्यटनको मुख्य केन्द्रको रुपमा विकास गर्न र पोखरालाई पर्यटनको राजधानीको रुपमा विकास गर्न पोखरालाई पर्यटन, शिक्षा र स्वास्थ्यको महानगर घोषणा गर्नुपर्ने ।

पोखरालाई आन्तरिक र बाह्य हवाई उडान मार्फत सिधा सम्वन्ध स्थापित गर्नुपर्र्ने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल तीन वर्ष भित्रमा निर्माण गरिसक्नु पर्ने, पोखराको बस्ती र वातावरणलाई व्यवस्थित गर्न पोखरा र वरीपरीका गाविसहरु समावेश गरी चक्रपथ निर्माण गर्नुपर्ने, फेवाताल, वेगनासतालसहित ८ ताल, सेती नदी लगायतका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणको विशेष योजना ल्याउनु पर्ने,पोखराको विकासको लागि अधिकारसम्पन्न प्राधिकरण गठन गरी एकिकृत परियोजनासहितका कार्यक्रम लागु गर्नुपर्ने । सो प्राधिकरणमार्फत ब्यवस्थित सहरी विकास परियोजना अगाडि बढाउनुपर्ने, अन्नपूर्ण लगायतका पदयात्रा मार्गहरुलाई संरक्षण, विकास र प्रवर्धनका विशेष कार्यक्रम ल्याउनुपर्ने,वातावरणको संरक्षणका लागि विशेष योजना र प्रतिवद्धता आउनु पर्ने ।

कमेन्टहरु
Loading...