पोखरा, १४ पुस /कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा संचालित पाचौं खुल्ला बुद्धिचाल प्रतियोगितामा आइतबार छैटौ चरणका खेलहरू सम्पन्न भएका छन् । जसमध्ये ६ अंकका साथ अमर गुरुङ अग्रस्थानमा रहेका छन् । यस्तै पाँच अंकका साथ बुद्धिसागर शर्मा, प्रेम भट्टराई र विनोद नाल्मी दोस्रो स्थान र ४.५ अंकका साथ अजय दास, एकराज अधिकारी, महेश्वर अधिकारी र नविन शाही तेस्रो स्थानमा रहेका छन् ।
यस्तै अनिलबहादुर कोइराला, सुवास क्षेत्री, किरणकुमार रञ्जित, रामचन्द्र त्रिपाठी, श्यामसुन्दर ताम्राकार, अमृत कुमार श्रेष्ठ, घनश्याम बोगटी, रिकेश बराल र उत्सव पौडेल ४ अंकका साथ चौथो स्थानमा रहेको संघका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए । शुक्रबारबाट शुरु भएको प्रतियोगितामा सोमबार सातौं अर्थात अन्तिम चरणको खेल सम्पन्न हुने पन्तले बताए ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले रु.सात हजार, द्वितीय हुनेले रु.पाँच हजार, तृतीयले रु.दुई हजार, चौथोले रु.एकहजार पुरस्कार पाउनुका साथै पाँचौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले विशेष पुरस्कारको व्यवस्था गरिएको कास्की जिल्ला बुद्धिचाल संघले जनाएको छ ।