नेकपा विवादको असरः

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली तथा प्रचण्ड–नेपाल पक्ष दुवैले एकअर्कालाई निषेध गर्ने रणनीति अपनाउने भए पछि प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले बोल्न नपाउने भएका छन् ।

नेताहरुले हिउँदे अधिवेशन सुरु भएको दिनमा सम्बोधन गर्ने परम्परा भएपनि प्रदेश १ को कार्य व्यवस्था समितिले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । प्रदेश १ का प्रदेश प्रमुखले आजको बैठकमा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएपछि आजको बैठक स्थगित हुने र अर्को बैठक कुन मितिमा बस्ने भन्ने बारेमा जानकारी दिइने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा हाल २ कित्तामा विभाजित छ । पार्टीले औपचारिक रुपमा फुटेको घोषणा नगरेको भए पनि उनीहरुले आ–आफ्नो संगठन अनुसार अगाडि बढिरहेका छन् । केन्द्रको विवाद प्रदेशमा समेत पुगेपछि उक्त प्रदेशका मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेको १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने ओली समुहले तय गरेको थियो ।

मुख्यमन्त्री राईले नेकपा प्रचण्ड–नेपाल समुहका १६ जना सांसदलाई निलम्बन गरेको घोषणा गरेका थिए । यता प्रचण्ड–नेपाल समुहले भने मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइसकेको बताउँदै हिउँदे अधिवेशनमा बोल्न नदिने रणनीतिका साथ अगाडि बढेका थिए ।

नेकपा कै विवादका कारण प्रदेशसभामा होहल्ला तथा मुठभेडको परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मर्यादापालकको संख्या समेत बढाइएको स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...