त्रिवि दीक्षान्तमा सरकारी स्कुलकै अब्बल

पोखरा, १३ पुस/कास्की कृष्टिनाच्नेचौरबाट पाँच वर्षअघि स्नातकोरत्तर गर्न राजधानी छिर्दा मीनबहादुर रानाभाटले विश्वविद्यालय नै टप्छु भन्ने कल्पना गरेका थिएनन्। शुक्रबार दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको उनन्चालिसौं दीक्षान्त समारोहमा लगातार तीन स्वर्णपदक आफ्नो नाममा घोषित हुँदा उनमा खुसीको सीमै रहेन्। २६ वर्षका मीनबहादुर स्नातकोत्तर तहका सबै संकायका साथीलाई उछिनेर प्रथम श्रेणीमा प्रथम भए ।त्रिवि कुलपतिसमेत रहेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीद्धारा तीन स्वर्णपदकबाट दीक्षित भएका उनले भने, ‘नियमित कक्षा, निरन्तर मिहिनेत र अध्ययनमा एकाग्रताले मलाई सफलता दिलायो ।’ मीनबहादुर विश्वविद्यालय क्याम्पस, कीर्तिपुरबाट गणित विषयमा ९३।६ प्रतिशत अंक ल्याएर आफ्नो विभागमा मात्र सर्वोत्कृष्ट भएनन्, स्नातकोत्तरका सबै संकायलाई जितेर ‘प्रथमहरुबीच नै प्रथम’ बने ।

उनलाई मास्टर्स परीक्षामा प्रथम श्रेणीमा प्रथम भएकामा विशिष्ट श्रेणिका लागि चान्सलर स्वर्ण पदक दिइयो । त्यही समारोहमा सम्पूर्ण मास्टर्स तहमा विशिष्ट श्रेणीमा सर्वप्रथम स्थान हासिल गरेकोमा मीनबहादुरले ‘रामप्रसाद मानन्धर स्वर्णपदक’ पाए । अनि, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्णपदकबाट विभूषित हुने अवसर पनि उनैले पाएको खबर आजको नागरिक दैनिकमा रुवि रौनियारले लेखेकी छन् ।

कमेन्टहरु
Loading...