काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।
उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ । पहिलोपटक बृहत् रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।
उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।
यसपटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडीसमेत राख्न पाउनेछन् ।
प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले ८ लाख, तेस्रोले ५ लाख तथा चौथो हुनेले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस