पाचौं खुल्ला बुद्धिचाल प्रतियोगिताको तयारी

पोखरा, पुस १०/कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा १२ गतेदेखि १५ गतेसम्म पोखरामा संचालन हुने पाँचौ खुल्ला बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । ‘स्थानीय तहमा बुद्धिचाल खेलको गतिविधि बढाउने र बुद्धिचालमार्फत पोखरालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने’ उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितामा विदेशी खेलाडीले समेत सहभागिता जनाउने भएका छन् ।

सात चरणमा सम्पन्न हुने उक्त खेल स्वीस लिग अनुरुप खेलाइने र प्रतियोगितामा उत्कृष्ट पाँच खेलाडीले यहि पुस २० बाट शुरु हुने पश्चिमाञ्चलस्तरीय बुद्धिचाल प्रतियोगितामा सहभागी गराइने संघका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले रु. सात हजार, द्वितीय हुनेले रु.पाँच हजार, तृतीयले रु.दुई हजार, चौथोले रु. एकहजार पुरस्कार पाउनुका साथै पाँचौंदेखि दशौंसम्मका खेलाडीले विशेष पुरस्कार प्राप्त गर्ने अध्यक्ष पन्तले बताए । पोखराको रानीपौवामा रहेको ग्लोवल कलिजियटमा संचालन हुने उक्त खेलमा स्वदेशी र विदेशी गरी करिब ५० खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले ११ गतेसम्म ग्लोवल कलिजियटमा नाम दर्ता गराउनुपर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...