ओलीज्यु, निर्वाचनको तयारी होइन, सिंहदरबारबाट झोला बोकेर निस्कने तयारी गर्नुस्ः नेता राई

पोखरा । जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले मुलुकमा आउने दिनहरु निकै कष्टपूर्ण हुन सक्ने बताएका छन् । जनता समाजवादी पार्टीले पोखरामा आयोजना गरिएको सरकारविरोधी कार्यक्रममा बोल्दै राईले प्रतिनिधिसभालाई अनुचित तरिकाले नाम जस्तै प्रधानमन्त्री खड्गप्रसाद ओलीले खड्ग प्रहार गरेको आरोप लगाएका छन् । ‘उहाँले यहाँसम्म आउँदा आफ्नै नाम लुकाएर केपी राख्नुभयो, तर अहिले लुकाउन सक्नुभएन, केपीबाट सिधै खड्गप्रसाद बनेर प्रतिनिधिसभा विघटन गर्नुभयो ।’ उनले कार्यक्रममा भने ।

कोरोनाले आर्थिक संकटमा फसेका समयमा प्रधानमन्त्री ओलीले जनताको आवाज सुन्नुपर्छ कि भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको आरोप राईको थियो । प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको उनले आरोप लगाएका छन् । ‘संविधानमा उल्लेख नै नभएको धाराका आधारमा राष्ट्रपतिमार्फत् उहाँले विघटन गरिदिनु भयो ।’ उनले भने, ‘यो असंवैधानिक छ भन्ने निष्कर्ष सहित हामी आन्दोलनमा छौं ।’

प्रधानमन्त्री ओलीकै कारण नेपाल अहिले संकटको घडीमा प्रवेश गरेको उनले बताएका छन् । आफ्नै पार्टीका कार्यकर्ताले काम गर्न दिएनन् भन्दैमा जनताको भावनालाई कुल्चिन नपाइने राइले बताएका छन् । पार्टीको आन्तरिक झगडालाई लिएर संसद विघटन गर्नु अपराध भएको उनले बताए । प्रतिनिधिसभा विघटन गरेर जनताको भावनालाई लत्याउन खोजिएको समेत राईले आरोप लगाएका छन् । ‘कुनै बेला उहाँ नायकको भूमिकामा हुनुहुन्थ्यो । तर अहिले प्रतिनिधिसभा विघटन गरेर खलनायकको भूमिकामा देखिनुभएको छ ।’ राईले भने ।

कार्यक्रममा उनले नेपाली कांग्रेसले ५ वर्षमा हुने चुनाव २ वर्षमा नै हुने भो कम्युनिस्ट पार्टी फुट्यो भनेर रमाएको समेत बताए । निर्वाचन भनेर केटाकेटी जस्तै बनेको उनको भनाई छ । ‘खड्गप्रसाद ओलीले केवल संसद विघटन गर्नु भएको होइन, संविधान विघटन गर्नु भएको हो, ७० वर्षपछि आएको लोकतन्त्रलाई विघटन गर्नु भएको हो ।’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको यही कमजोरीले गर्दा केपी ओली प्रवृत्ति हावी हुन खोजेको छ ।’

आफूहरुले ओलीको भरोसामा नलाग्नुस् भनेको तर प्रचण्ड लगायतका नेताहरुले नमानेको उनको भनाई थियो । ‘हामीले प्रचण्ड लगायतकशा नेताहरुलाई ओलीको भर नगर्नुस् भनेकै हौं । तर उहाँहरुले मान्नुभएन ।’ उनले भने, ‘ओलीलाई बुझ्न नसक्नेले १० वर्ष जनयुद्ध कसरी गर्नुभयो, हामी अचम्ममा परेका छौं । मलाई लाग्छ, जनयुद्ध त बाबुराम भट्टराईकै सहयोगलेमात्र लडेका रहेछन् ।’ अब गाउँ–गाउँमा गएर ओली प्रवृत्तिविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । निर्वाचनको सपना नदेख्न समेत उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । ‘ओलीज्यु तपाई अब निर्वाचनको सपना नदेख्नुस् ।’ उनले भने, ‘अब सिंहदरबारबाट झोलाका गुण्टा बोकेर बाहिरिने तयारी गर्नुस् ।’

कमेन्टहरु
Loading...