महेन्द्रनगर । कोरोना कहरमा देशभरका खेलकूद गतिविधि प्रभावित भएपछि राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्ट गृहनगर महेन्द्रनगर फर्किए । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपाली महिला भलिबल टोलीको कुशल नेतृत्व गर्नुभएका प्रशिक्षक भट्टले कोरोना कहरमा महेन्द्रनगरस्थित घरमा रहँदा खेल गतिविधिलाई शून्यतामा झर्न दिए ।
विसं २०६१ मा सुदूरपश्चिममै पहिलो पटक यहाँस्थित कवर्डहलमा नेपाली सेनाको सहयोगमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरेका प्रशिक्षक भट्टले अहिले भलिबलको प्रशिक्षण र व्यवस्थानमा देखिएको सक्रियताले प्रशिक्षण केन्द्र थप आर्कषणको केन्द्र बन्न पुगेको छ ।
काम गर्ने इच्छाशक्ति उनले देखाउनुभएकै कारण भलिबल प्रशिक्षण केन्द्र राष्ट्रिय खेलकूद परिषद्को बिना लगानीमा लोभलाग्दो गरी बनेको छ । हरेक दिन बिहानदेखि बेलुकीसम्म भलिबल प्रशिक्षण केन्द्रको जीर्णोद्धारमा खटिएका प्रशिक्षक भट्टले आफ्नै पहल र स्थानीयस्तरको सहयोगमा भलिबल कोर्ट पुनःमर्मत, काठमाडौँ उपत्यका बाहिर पहिलो पटकबीच भलिबल कोर्ट निर्माण, भलिबल कार्यालय भवन मर्मत र रङ्गरोगनका साथै खेलकूद परिसरमा रहेको हनुमान मन्दिरको जीर्णोद्वारमा खटिएका छन् ।
‘इच्छाशक्ति भए राज्यको लगानी नभएर पनि साथी सर्कलको सहयोगले काम गर्न सकिँदो रहेछ’, प्रशिक्षक भट्टले भने, ‘यसपटक भीमदत्त नगरपालिकादेखि नेपाली सेना, स्थानीयवासी व्यापारी तथा व्यवसायीको सहयोग रह्यो ।’ राष्ट्रिय खेलकूद परिषद्ले पनि महेन्द्रनगरमा बनेको आधुनिक भलिबल प्रशिक्षण केन्द्रको खुलेर प्रशंसा गरेको छ । केही साताअघि मात्रै भलिबलका २४ जना प्रतिभावान खेलाडीको घोषणा कार्यक्रममा यहाँ आइपुगेका भएका राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल यहाँ अधुरो रहेको खेलाडी छात्रावास पनि बजेट विनियोजन गरेर काम अगाडि बढाउने बताए ।
‘यहाँबीच भलिबल कोर्ट बनेकाले एशियन खेल्ने महिला राष्ट्रिय टोलीलाई पनि बन्दसत्रका लागि यही पठाउन पहल गर्छु’, उनले भने, ‘यहाँँ भलिबल प्रशिक्षण र सङ्घले गरेको कार्यको प्रशंसा जति गरे पनि कमै हुन्छ ।’ प्रशिक्षक जगदीशप्रसाद भट्टले छनोटमा परेको प्रतिभावान खेलाडीलाई अहिले नियमित प्रशिक्षणमा रहेको बताए ।
हाल ८० महिला तथा पुरुष खेलाडी प्रशिक्षणरत रहेको भलिबलमा २० जिल्ला बाहिरका खेलाडीसमेत यहाँ आएर प्रशिक्षण लिइरहेको उनको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई अध्ययन समेत निःशुल्क गराएर बसोबासको पनि प्रबन्ध हामीले मिलाएको छौं’, उनले भने, ‘जिल्ला भलिबल सङ्घको पनि ठूलो साथ र सहयोग रहेको छ ।’
भलिबल प्रशिक्षण केन्द्र जीर्णोद्वारमा करीब रु १५ लाख बन्दा बढीको सहयोग मिलेको उनले बताए । ‘छात्रावास बनेपछि यही राखेर सुदूरपश्चिमभरका खेलाडीलाई व्यवस्थापन गर्ने योजनामा छौं’, उनले भने, ‘अहिले पनि पहाडी जिल्लाबाट आउने थोरै सङ्ख्यामा खेलाडीको खानपान र बसोबासको व्यवस्थापन गरिएकै छ ।’
त्यसैगरी जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले खेलकूदको संरचना निर्माणदेखि अन्य काममा नेपाली सेनालगायत स्थानीय निकाय र दाताहरुको सहयोग रहेको बताए । ‘सेनाको पहलमा यहाँ बक्सिङ प्रशिक्षण केन्द्रदेखि भलिबल केन्द्रसम्म बनेको छ ।’ कार्यालय प्रमुख भट्टले भने, ‘यहाँ खेलकूदको हरेक गतिविधिमा सहयोग रहेको छ ।’ उनले यहाँ बनेका विभिन्न खेलका हल तथा प्रशिक्षण केन्द्र निमार्णमा खेल प्रशिक्षक र सङ्घको महत्वपूर्ण भूमिका रहदै आएको बताए ।
क्रिकेट खेल मैदान निर्माणका लागि सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिमा रु एक रकम केन्द्रबाट आएको बताए । ‘छैठौं राष्ट्रिय खेककूदका बेला क्रिकेट मैदान र कबड्डी कोर्ट बनाउनुका साथै केन्द्रले सामान्य मर्मतका काम गरेको थियो’, उनले भने, ‘ठूला संरचना निर्माणमा राखेपबाट जिल्लामा रकम आएको छैन ।’