लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं–४ स्यागे र वडा नं–५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण भएको छ । नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङकी धर्मपत्नी कुमारीेस्यो र दिलमाया गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । पुल निर्माण भएसँगै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज भएको छ ।
घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विशष सक्रियतामा पुल निर्माण भएको हो । गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयलाई फाइदा पुग्ने उनीहरूको भनाई छ । पुल निर्माणका लागि कुल ४ लाख ६६ हजार १६ सय रकम संकलन भएको स्थानीयको भनाई छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेका अनुसार संकलित रकम मध्ये २ लाख ७८ हजार १५ सय रकम पुल निर्माणमा खर्च भएको छ ।