जगतगुरु शंकराचार्य स्वामी माधवाश्रम हेमजामा आउने

पोखरा १० पुस। अनन्त विभुषित ज्योतिष पिठाधिश वदरिका आश्रम जगतगुरु शंकराचार्य स्वामी माधवाश्रम जी महाराज कास्कीको हेमजा गाविसमामा आउनुहुने भएको छ । कास्कीको हेमजा गाविस वडा नं.८ मा रहेको तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिरको स्थलगत निरिक्षण गर्नेका लागि हेमजा आउने कार्यक्रम तय भएको हो ।

जगतगुरु शंकराचार्य स्वामी माधवाश्रम हेमजा दुई दिन सम्म रहनुहुनेछ । पुस १३ गते वेलुका हेमजा आईपुग्ने स्वामी माधवाश्रमलाई हेमजामा भव्य स्वागत गर्ने कार्यक्रम समेत रहेको छ । १३ गते उहाँको स्वागत गर्नको साथै वेलुका भेटघाट कार्यक्रम समेत राखिएको छ । १३ वेलुका उहाँ हेमजा–८ मेलवट मणिमा रहेको गोरखनाथ तथा उत्तरकाली मन्दिरमा वस्ने प्रवन्ध मिलाइएको छ ।

पुस १४ गते हेमजा गाविस वडा नं.८ मा रहेको तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिरको स्थलगत निरिक्षण गर्नुको साथै त्यहा स्थापना गरिने मन्दिरको शिलन्यास गरिने कार्यक्रम रहेको छ । उहाँले १४ गते नै हेमजा–८ मेलवट मणिमा रहेको गोरखनाथ तथा उत्तरकाली मन्दिर परिसरमा निर्माण गरिएको आश्रमको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैदिन उहाँले अभिनन्दन गरिने कार्यक्रम समेत रहेको छ। व्यासाचार्य धर्मगुरु किशोरकुमार गौतमको पहलमा जगतगुरु शंकराचार्यला स्वामी माधवाश्रमलाई ल्याउन लागिएको हो ।

कार्यक्रमलाई सफल बनाउनका लागि रुद्रमहादेव मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कुँवरको अध्यक्षतामा मुल आयोजक समिति समेत गठन गरिएको छ । बुधबार हेमजा रहेका राजनितिकदलका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, वृद्धिजिवि समाजसेवीहरुको भेलाले समितिमा रहेका पदाधिकारीहरुलाई नै मुल समिति मानेर काम गर्ने निर्णय गरेको हो ।भेलाले विभिन्न आठ ओटा उपसमिति समेत गठन गरेको छ ।

जनार्जनशरण त्रिपाठीको संयोजकत्वमा अभिनन्दन उपसमिति, रामचन्द्र त्रिपाठीको संयोजकत्वमा स्वागत उपसमिति, विशालजंग कुँवरको संयोजकत्वमा आवास तथा खानपान उपसमिति, साना वलबहादुर कुँवरको संयोजकत्वमा आर्थिक उपसमिति, प्रकाशचन्द्र सापकोटाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सूर्यबहादुर कुँवरको संयोजकत्वमा स्वागतद्धार उपसमिति, भोजराज पौडेलको संयोजकत्वमा भजनमण्डली उपसमिति, धनबहादुर थापाको संयोजकत्वमा यातायात तथा सवारी साधन व्यवस्थापन उपसमिति गठन भएको छ ।

जगतगुरु शंकराचार्य स्वामी माधवाश्रमलाई हेमजा वाजगाजा र भजन सहित स्वागत गरिने भएको छ । उहाँको सम्मानका लागि घर घरको अगाडि फुल सहितको घडा राखेर स्वागतका लागि सहयोग गरिदिनका लागि समितिले आग्रह गरेको छ । हेमजा गाविस वडा नं.८ मा रहेको तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिरको धार्मिक तथा पर्यटकिय रुपमा विकास गर्नका लागि उहाँलाई हेमजामा ल्याउन लागिएको हो । तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिर रहेको स्थानबाट हिमालको दृश्य अवलोकन गर्न समेत सकिन्छ । तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिर समुन्द्री सतहबाट एक हजार चार सय ५० मिटरको उचाईमा रहेको छ ।

कमेन्टहरु
Loading...