प्याब्सन कास्कीको सल्लाहकार समिति गठन, प्याब्सन दिवस विविध कार्यक्रमसहित मनाइने

पोखरा, १० पुस। प्याब्सन कास्कीको बुधबार सम्पन्न कार्यसमितिको तेस्रो बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा बसेको बैठकले समितिको वरिष्ठ सल्लाहकारमा हिमाञ्चल बोर्डिङ स्कुलका प्रिन्सिपल धु्रव केसी, प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष एवं पश्चिमाञ्चल उमाविका संस्थापक निदेशप्रसाद कोइरालालाई चयन गरेको छ।

यस्तै सल्लाहकारमा लिटिल स्टेप उमाविका संस्थापक प्रिन्सिपल शेरबहादुर गुरुङ, सृजना उमाविका संस्थापक प्रिन्सिपल डोलराज पाण्डे, सरस्वती आदर्श विद्याश्रम लामाचौरका संस्थापक प्रिन्सिपल गणेशमानसिंह भण्डारी, ग्लोबल कलेजियट उमाविका संस्थापक प्रिन्सिपल बाबुराम पन्त र टप्स उमाविका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङ रहेका छन्।

कार्यसम्पादन समितिको बैठकले यही पुस २४ गते पर्ने प्याब्सन दिवस विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। जसअनुसार सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शिक्षाविद् एवं शिक्षासँग सरोकारवाला सङ्घसंस्थालाई बोलाएर अन्तरक्रिया गर्ने, प्रचारात्मक कार्यक्रमअन्तर्गत मिडियामा लेख, रचना तथा अन्तर्वार्ता प्रकाशन तथा प्रसारण गर्ने रहेका छन्।

सोही अवसरमा २५ वर्ष पूरा गरेका प्याब्सनसँग आवद्ध विद्यालयहरूलाई सम्मान गर्ने पनि निर्णय गरेको प्याब्सन कास्कीका सचिव षडानन्द गौतमले जानकारी दिए। २५ वर्ष पूरा गरेको कास्कीमा करिब एक दर्जन विद्यालय रहेका छन्।

कमेन्टहरु
Loading...